सुनसरी - स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई झण्डै साढे ३ लाख रुपैयाँ नाफा भएको छ । आयोजक द योङ्ग ब्रदर्श क्लब इटहरीले गत माघ १३ देखी २० गतेसम्म आयोजना गरेको गोल्डकपको बिहीबार खर्च विवरण सार्वजनिक गर्दै तीन लाख ३१ हजार ६ सय रुपैयाँ बचत गर्न सफल भएको जानकारी गराएको हो । मोफसलमा हुने अधिकांश गोल्डकपहरुको घाटामा जाने तथा खर्च विवरण सार्वजनिक नभइरहेको अवस्थामा आयोजकले स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप सम्पन्न भएको दुई सातामै आयब्याय सार्वजनिक गरेको हो । 
    प्रतियोगिता विभिन्न क्षेत्रबाट सहयोग स्वरूप १९ लाख ४५ हजार आम्दानी भएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख १३ हजार रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । प्रतियोगिताको लागि विभिन्न देशमा रहेका क्लबका सुभचिन्तकहरुबाट ५ लाख ५० हजार, इटहरी क्षेत्रका विभिन्न संघ संस्था र व्यक्तिहरूबाट १० लाख पैँतालिस हजार, इटहरी उपमहानगरपालिकाबाट २ लाख ५० हजार र कोसी प्रदेश खेलकुद विकास बोर्डबाट एक लाख रुपैयाँ गरी जम्मा १९ लाख ४५ हजार रुपैयाँ आम्दानी भएको प्रतियोगिता संयोजक विकास केसीले जानकारी दिए । 
         प्रतियोगितामा विजेता तथा उपबिजेतालाई नगद पुरस्कार तर्फ ४ लाख रुपैयाँ खर्च भएको छ । यस्तै खेलाडी तथा रेफ्री भत्ता र यातायातमा ५ लाख ५० हजार रुपैयाँ खर्च भएको क्लबले जनाएको छ । माघ १३ देखी एक सातासम्म चलेको प्रतियोगितामा तेह्रथुमको बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब) ले उपाधि जितेको थियो । फाइनल खेलमा सिंहदेवी फुटबल क्लब धनकुटालाई ४-१ गोल अन्तरले पराजित गर्दै बिटिएफसीले उपाधिसँगै नगद २ लाख २२ हजार हात पारेको थियो । उपबिजेता धनकुटाले १ लाख ११ हजारमा चित्त बुझाएको थियो । प्रतियोगितामा कोसी प्रदेशका ८ टिमको सहभागिता रहेको थियो ।