सुनसरी- हिसान एन्फा सुनसरी कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि इटहरीको बिश्वआदर्श कलेजले जितेको छ । धरानस्थित एन्फा एकेडेमीको खेल मैदानमा मङ्गलवार भएको फाइनल खेलमा धरान आदर्श उच्च माबिलाई ३-१ गेल अन्तरले पराजित गर्दै बिश्वआदर्शले उपाधि जितेको हो । उपाधिसँगै बिश्वआदर्शले नगद ३० हजार रुपैयाँ र शिल्ड हात पारेको छ । उपबिजाते बनेको धरान आदर्शले १५ हजार रुपैयाँ पाएको छ । 
         घरेलु मैदानमा भएको फाइनलमा धरान आदर्शले एकपछी अर्को कमजोरी दोहोर्याउदा बिश्वआदर्श च्याम्पियन बनेको हो । पहिलो हाफको प्रतिस्पर्धात्मक खेलको १४ औँ मिनेटमा बिश्वआदर्शका अनुप सेनिहाङले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । उनले धरान आदर्शको डिफेन्डरले गरेको गल्तीलाई अवसरको रूपमा सदुपयोग गर्दै गोल गरे । 
hisan cup
      पहिलो हाफमा १-० ले पछि परेको धरान आदर्शले ५० औँ मिनेटमा गोल फर्कायो । बिनम तामाङले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए पनि त्यसको २ मिनेट नबित्दै बिश्वआदर्शका अङ्कित चौधरीले गोल गरेपछि पुन बिश्वआदर्शले अग्रता कायम गर्‍यो । २-१ गोल अन्तरले पछि परेको धरान आदर्शलाई दबाबमा राख्दै बिश्वआदर्शका नीरज कटुवालले खेलको अन्तिम समयमा गोल गर्दै आफ्नो टिमलाई ३-१ को स्पष्ट जीत दिलाए । 
          प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिश्वआदर्शका क्याप्टेन प्रतीक चौधरी घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए । बिश्वआदर्शकै सोहन श्रेष्ठ वेस्ट गोलकिपर, नीरज कटुवाल वेस्ट मिडफिल्डर, अनुप सेनिहाङ हाइस्कोरर, प्रतीक चौधरी म्यान अफ द फाइनल र  प्रताप ठकुरी वेस्ट कोच घोषित भए । धरान आदर्शका प्रवेश खड्का वेस्ट फरवार्ड घोषित भए । उनीहरूले जनही नगद २-२ हजार रुपैयाँ पाए । 
hhh
       विजेता तथा उपबिजाते खेलाडीहरूलाई प्रमुख अतिथि एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राई, सुनसरी अध्यक्ष नवीन राई, हिसान केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरे, सुनसरी सल्लाहकार केशव खड्का, सुनसरी अध्यक्ष सागर भटराई, कोसी प्रदेश उपाध्यक्ष गणेश दुलाल लगायतले पुरस्कार वितरण गरे । 
    अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरी र उच्च माध्यमिक शिक्षालय सङ्घ हिसान सुनसरीको संयुक्त आयोजनामा माघ १५ गते देखी भएको प्रतियोगितामा सुनसरीका १८ वटा उच्च माविहरूको सहभागिता रहेको सुनसरी जिल्ला फुटबल सङ्घका महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।