सुनसरी – तेह्रथुमको बिटी एफसी इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा तेह्रथुमे टोलीले झापाको दमक फुटबल एकेडेमीलाई पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । बिटीएफसीले अब उपाधिका लागि बिहीबार हुने धरान फुटबल क्लब र धनकुटाको सिंहदेवी फुटबल क्लबबिचको सेमिफाइनल विजेतासँग उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्नेछ ।
         निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । पेनाल्टीमा दमकका निमा तामाङ र आयुष श्रेष्ठले मात्र गोल गरे । कप्तान गौरव धिमाल र विशाल दर्जीको प्रहार तेह्रथुमका गोलकिपर प्रेम लिम्बुले उत्कृष्ट बचाउ गरे । बिटीएफसीको लागि निशान लिम्बु, रबिन राई, मञ्जिल खड्का र साइमन लिम्बुले गोल गर्दा सञ्जित श्रेष्ठको प्रहार दमकका गोलकिपर आयुश लिम्बुले रोकेका थिए । खेलको म्यान अफ द म्याच तेह्रथुमका गोलकिपर प्रेम लिम्बु घोषित हुँदै नगद ५ हजार पाए । उनलाई कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल ४  नम्बर गण सुनसरीका प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले नगद र टफी प्रदान गरे । 
      प्रतियोगिताको विजेताले नगद दुई लाख ११ हजार र उपबिजेताले नगद एक लाख ११ हजार सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउँदा विधागत उत्कृष्टले नगद १० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।