सुनसरी - आयोजक द योङ्ग बद्र्रस क्लबलाई पराजित गर्दै धनकुटाको सिंहदेवी फुटबल क्लब इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा मङ्गलवार सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा धनकुटाले आयोजक क्लबलाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । धनकुटाले अब सेमिफाइनलमा बिहीबार धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
         निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । पेनाल्टीमा आयोजकको तर्फबाट मणिन्द्र याक्खा र विजय राईले मात्र गोल गरे । सुमित चौधरी र योगेन्द्र कार्कीको प्रहार धनकुटाका गोलकिपर राजीव क्षेत्रीले उत्कृष्ट बचाउ गरे । धनकुटाको लागि कप्तान बुद्ध चेम्जोङ, अभिषेक लिम्बु, असिम राई, र आशिष चौधरीको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ द म्याच धनकुटाका गोलकिपर राजीव क्षेत्री घोषित हुँदै नगद ५ हजार पाए ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले नगद र टफी प्रदान गरे । 
      प्रतियोगिता अन्तर्गत बुधवारको पहिलो सेमिफाइनल खेल तेह्रथुमको बिटी एफसी र दमक फुटबल एकेडेमी झापाबिच प्रतिस्पर्धा हुने आयोजक क्लबका संरक्षक विकास केसीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद दुई लाख ११ हजार र उपबिजेताले नगद एक लाख ११ हजार सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउँदा विधागत उत्कृष्टले नगद १० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।