सुनसरी - तेह्रथुमको बिटीएफसीले इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा शनिवार सम्पन्न उद्घाटन खेलमा बिटीएफसीले मोरङको बेलबारी फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
तेह्रथुमका लागि ज्ञानेन्द्र भण्डारीले दोस्रो हाफको १४ औँ मिनेट गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच भण्डारी नै घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार गाईघाट फुटबल क्लब उदयपुर र धरान फुटबल क्लबबिच प्रतिस्पर्धा हुने आयोजक द योङ्ग बद्र्रस क्लबले जानकारी दिएको छ ।
प्रतियोगितामा कोसी प्रदेशका विभिन्न आठ वटा टिमको सहभागी रहेको क्लबका संरक्षक विकास केसीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद दुई लाख ११ हजार र उपबिजेताले नगद एक लाख ११ हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउँदा विधागत उत्कृष्टले नगद १० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।
माघ २० गतेसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष सुब्बाले जानकारी दिए ।