सुनसरी- पाचौं संस्करणको सुदेश मेमोरियल हिमशिखर कप माघ १४ गते देखी हुने भएको छ ।
सुनसरीको तरहरा स्थित हिमशिखर स्कुलले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको सुदेश मेमोरियल हिमशिखर कप माघ १४ देखी १९ गते सम्म हुने सोमबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो ।
कक्षा ५ सम्मका १२ वर्षमुनिका विद्यार्थीहरूको सहभागिता रहने प्रावि स्तरीय उक्त प्रतियोगिताको विजेताले नगद २५ हजार र उपबिजेताले १५ हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको हरेक खेलका उत्कृष्ट खेलाडीले म्यान अफ द म्याचको पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको विद्यागत तर्फका उत्कृष्ट खेलाडीलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई मर्यादित, सभ्य, अनुशासित, निष्पक्ष एवं पारदर्शी ढङ्गले सञ्चालन गर्न यस संस्करणदेखि प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिमको डिजिटल अभिलेख राखिने र उक्त अभिलेखमा विद्यालय टिमको खेलाडीहरूको आवश्यक विवरण समावेश गरिने प्रतियोगिता संयोजक शैलेष पुरीले बताए । प्रतियोगितामा सुनसरीका विभिन्न १६ वटा विद्यालय सहभागी हुने बताइएको छ ।
जसमा तरहराबाट आयोजक हिमशिखर स्कुल, ज्ञान दर्पण र पूर्वाञ्चल एकेडेमी, धरानबाट डिपोट, कार्मेल र प्रभात, वराहक्षेत्रबाट बराह राइजिङस्टार, स्काई र आइरिस बराह, राम धुनीबाट लर्ड बुद्ध इन्टरनेशनल र पञ्चायन विद्या मन्दिर, इटहरीबाट कोसी सेन्ट जेम्स, विश्व आदर्श, पशुपति बोर्डिङ र कस्तुरी एकेडेमी सहभागी हुने छन् । यस्तै दुहबीबाट महेन्द्र मेमोरियल स्कुलले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ । 
फुटबल खेलका प्रतिभाशाली बाल खेलाडीका प्रतिभा पहिचान गरी उनीहरूको खेल प्रतिभालाई उजागर गर्ने उदेश्वले २०७४ सालदेखि वार्षिक रूपमा आयोजना हुँदै आएको प्रतियोगिता २०७७ र २०७८ सालमा भने कोरोना महामारीले गर्दा हुन नसकेको आयोजकले जनाएको छ ।