विराटनगर । अहिले मुलुकको आर्थिक अवस्था अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको छ । प्रतिकूल अवस्थामा पनि उद्योगी व्यवसायीहरूले अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ । कठिन अवस्थामा पनि उद्योगी व्यवसायीहरूले सञ्चालन गर्ने यस प्रकारको प्रदर्शनीबाट अर्थतन्त्र चलायमान बनाउन र उद्योगी व्यवसायीमा आशा जगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्  ।
राजनीतिमा मात्रै होइन आर्थिक क्षेत्रमा पनि विराटनगरको छुट्टै पहिचानसँगै महत्त्व रहेको छ।  वि.सं. १९९३ सालमा नेपालकै सबैभन्दा पहिलो उद्योग विराटनगरमै स्थापना हुनुले यस क्षेत्रको औद्योगिक इतिहास ओजिलो र गर्विलो छ । विराटनगरको राजनैतिक मात्रै होइन औद्योगिक क्रान्तिमा पनि अग्रणी भूमिका रहेको छ । तर, पछिल्लो समय विराटनगर पछि परेको मैले मात्रै होइन आम विराटनगरवासीले महसुस गर्नु भएको छ । विगतमा ‘आज विराटनगरले जे सोच्छ देशले भोलि सोच्छ’ भन्ने भनाइ थियो । जुन रूपमा विराटनगरले फड्को मार्नुपर्ने थियो त्यस अनुरूप अगाडि नबढेको हामी सबैले महसुस गरेका छौँ । तर पनि हामी निराश छैनौँ । विराटनगरको गुमेको साखलाई फर्काउनु हामी सबैको दायित्व हो भन्ने मैले ठानेको छु । त्यसका लागि विराटनगर महानगरपालिकाले कहाँ कस्तो भूमिका निर्वाह गर्नुपर्छ महानगरको तर्फबाट हामी तयार छौँ।   विराटनगर पछिल्लो समय शिक्षा र स्वास्थ्यको हब बन्दै गएको छ । शिक्षा र स्वास्थ्यलाई पर्यटनसँग जोडेर विराटनगरको विकास गर्न सकिन्छ।  
1
नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अतुलनीय रहँदै आएको छ । पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने निजी क्षेत्रले मात्रै करिब ५५ लाखभन्दा बढीलाई रोजगारी दिएको छ । साथै देशको अर्थतन्त्रको करिब ८२ प्रतिशत निजी क्षेत्रको योगदान रहेको तथ्याङ्कले देखाएको छ । यस आधारले पनि निजी क्षेत्र मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको छ । विराटनगरको विकास र समृद्धिका लागि निजी क्षेत्रसित सहकार्य गर्न महानगरपालिका तत्पर रहेको छ । 
लामो समयदेखि उद्योगी– व्यवसायीहरूबाट प्रदर्शनी स्थल निर्माणको माग उठ्दै आएको छ। उद्योगी व्यवसायीले लामो समयदेखि झेल्दै आएको प्रदर्शनी स्थलको समस्या समाधान गर्न महानगर तयार छ । म महानगरको नेतृत्वमा आइसकेपछि जग्गा प्राप्तिका लागि सम्बन्धित पक्षसित पटक–पटक वार्ता र संवाद भएका छन् ।  प्रदर्शनी स्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्ति सकारात्मक बाटोमा अगाडि बढिरहेको छ ।  प्रदर्शनी स्थल निर्माणका सन्दर्भमा उद्योगी व्यवसायीहरु बीच पनि एकता हुनु आवश्यक छ । प्रदर्शनी स्थल अभावकै कारण हरेक वर्ष उद्योगी व्यवसायीहरूले गर्ने एक्स्पोको अस्थायी भौतिक संरचना निर्माणका लागि ठुलो धनराशि खर्च हुने गरेको छ । प्रदर्शनी स्थलको दीर्घकालीन समाधानका लागि तीनै तहको सरकार र निजी क्षेत्रबिच सहकार्य जरुरी छ ।  
विराटनगरलाई कोशी प्रदेशकै आर्थिक राजधानी बनाउन हामी सबै लाग्नु पर्छ ।   सुनसरीको अमडुवास्थित सुगर मिलको स्वामित्वमा रहेको ६५० बिघा जग्गामा औद्योगिक ग्राम निर्माणका लागि महानगर  समन्वय गर्न तयार छ ।  स्थानीय सरकारको प्रमुखको नाताले विराटनगरमा लगानीको वातावरण बनाउन र आर्थिक विकासमा कहाँनेर कस्तो भूमिका आवश्यक पर्छ त्यो भूमिका निर्वाह गर्न तयार छौँ ।   देशकै पहिलो उद्योगका रूपमा रहेको विराटनगर जुट मिल संरक्षणको अभावमा खण्डहरमा परिणत भएको छ । त्यसतर्फ प्रधानमन्त्रीले ध्यान दिनु पर्छ । 
विराटनगरको योगदान भुल्न भएन
राजनैतिक र आर्थिक क्रान्तिमा विराटनगरको योगदान हुँदाहुँदै पनि विराटनगर विकासमा पछि परेको छ । विराटनगर कोशी प्रदेशको एक मात्रै महानगरपालिका र प्रदेशको राजधानी पनि हो । विराटनगरको विकास भएमा मात्रै छिमेकी स्थानीय तहहरुको विकास हुनेछ । ४२ किलोमिटर लम्बाई भएको विराटनगरको रिङ रोडको उद्घाटन भएको २६ वर्षसम्म पनि बन्न सकेको छैन । यो रिङ रोड निर्माण भएमा विराटनगर बजार क्षेत्रमा हुने ट्राफिक चाप कम भई आसपासको क्षेत्रको विकाससँगै विराटनगरको सहरीकरणमा महत्त्वपूर्ण सहयोग पुग्नेछ । 
3
गत जेठमा भारतीय समकक्षी र नेपालका प्रधानमन्त्रीबाट उद्घाटन गरिएको मालवाहक रेल उद्घाटनपछि फर्किएर आएको छैन । कम्तीमा मालवाहक रेल नियमित सञ्चालन गर्न सकिए ढुवानी खर्च कम हुन गई उपभोग्य वस्तुको मूल्यमा कमी हुनुका साथै उपभोक्तालाई राहत पुग्ने देखिन्छ । 
जोगबनी–किमाथांका सडक निर्माण कै अवस्थामा छ । यो सडक निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी विराटनगर चीन र भारतको व्यापारिक केन्द्रका रूपमा स्थापित हुन्छ भन्ने ठानिएको छ । जोगबनी–किमाथांका सडक भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको सडक हुनुका साथै भौगोलिक हिसाबले पनि बाह्रै महिना सञ्चालन हुने अवस्था छ । यस हिसाबले पनि विराटनगर लगानीका लागि उपयुक्त र अत्यन्तै धेरै सम्भावना भएको ठाउँ हो ।
विमानस्थलको विस्तार
विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनुपर्छ । विमानस्थल निर्माणपछि यहाँबाट चीन, भुटान, बंगलादेश र भारतका विभिन्न सहर जान सहज हुने देखिन्छ । यी सबै देश विराटनगरबाट एक सय माइल वा त्यो भन्दा कम दूरीमा पर्दछन् ।  काठमाडौंबाट हुँदै आएको माउन्टेन फ्लाइट विराटनगरबाटै सञ्चालन गर्नका लागि प्रधानमन्त्रीले पहल कदमी लिनुपर्छ ।  यसो गर्न सकिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिँदै आएको एयर ट्राफिकको समस्या हल हुनेछ र विराटनगरसहित पूर्वको पर्यटन व्यवसाय फस्टाउनेछ । विराटनगरमा हाल टर्मिनल भवन निर्माण भइरहेको छ । अब धावन मार्गलाई ३ हजार मिटर बनाउन सकिए ठुला विमानमार्फत अन्तर्राष्ट्रिय उडान गर्न सकिने थियो । तत्कालकालागि कम्तीमा हाल भइरहेका जहाजबाटै भए पनि भारतका विभिन्न ठुला सहरमा उडानको व्यवस्था मिलाउनु पर्छ । 
पौराणिक र ऐतिहासिक धार्मिक स्थल विराट राजाको दरबार पनि विराटनगरमै रहेको छ । १६ करोडभन्दा बढी जनसङ्ख्या भएको छिमेकी मुलुक भारतको बिहार राज्यसित जोडिएको विराट राजाको दरबार क्षेत्रको संरक्षण र विकास गर्न सकिए आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने प्रचुर सम्भावना रहेको छ । लुम्बिनी मोडलमा बृहत्तर विकासका लागि हाम्रो आन्तरिक स्रोतबाट मात्रै सम्भव नभएकाले सङ्घीय सरकारले पनि यसमा विशेष ध्यान दिनु जरुरी छ । 
तीनै तहको सरकार र निजी क्षेत्रको सहकार्य र समन्वय बिना मुलुकको आर्थिक विकास हुन सक्दैन । एक अर्का बीच दोषारोपणभन्दा अब आ–आफ्नो ठाउँबाट इमानदारीपूर्वक जिम्मेवारी पूरा गरौँ । अब पनि हामीले जनअपेक्षा अनुसारका काम गर्न सकेनौँ भने अहिलेको व्यवस्थाप्रति नै जनताको वितृष्णा बढ्दै जानेछ । रोजगारीको खोजीमा दैनिक सयौँ युवा विदेश पलायन भइरहेका छन् । मङ्सिर महिनामा मात्रै ७१ हजारभन्दा बढी युवा रोजगारीको खोजीमा विदेश पलायन भएका छन् ।  यो सङ्ख्या दिनानुदिन दिन बढ्दै गएको छ । पछिल्लो चार महिनामा ४ खर्ब ७७ अर्ब रेमिटेन्स त भित्रिएको छ । तर दैनिक बाकसमा प्याक भएर आउने युवाहरूका घरपरिवारका लागि त्यो रेमिट्यान्सको तुलना हुन सक्दैन । यसर्थ हामीले बढीभन्दा बढी रोजगारी सिर्जना गरेर युवाका जोस र जाँगरलाई मुलुक निर्माणमा लगाउनु आवश्यक छ । 

महानगरपालिकाले बहु वर्षीय आयोजनाअन्तर्गत विभिन्न ठुला परियोजना सञ्चालन, सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवनमा रोक, सरसफाइ, कर सङ्कलन, उज्यालो विराटनगर, तार व्यवस्थापनलगायतका विभिन्न अभियान जारी राखेको छ । यी अभियान सफल बनाउन सम्पूर्ण उद्योगी व्यवसायीसहित सबै विराटनगरवासीको साथ र सहयोग चाहिन्छ । 
(२०८० पुस ६ गते शुक्रवार मोरङ व्यापार सङ्घले आयोजना गरेको एक्स्पोको उद्घाटन समारोहमा व्यक्त मन्तव्यको सम्पादित अंश)