लक्ष्मी उप्रेती ।
झापा । पछिल्लो समय झापामा अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने, रकम नभएको बैङ्क खाताको चेक दिने, बैङ्क खाता ‘ह्याक’ गरी अनधिकृत रूपमा रकम चोरी गर्नेलगायत आर्थिक अपराधका घटना वृद्धि  भएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कले पुष्टि गर्दछ । 
पछिल्ला वर्षहरूमा बढेका आर्थिक अपराधका घटनाहरू मध्ये बैङ्किङ कसुरका मुद्दा त झन्डै ६० प्रतिशतले वृद्धि भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । बैङ्किङ कारोबारसँगै बैङ्किङ कसुरका मुद्दा पनि बढेको प्रहरीको भनाई छ । प्रहरीमा बैङ्किङ कसुरका मुद्दाको चाप दोब्बरभन्दा धेरै भएको छ । आर्थिक वर्ष ०७९/८० मा बैङ्किङ कसुरका मुद्दा अघिल्लो वर्षमा भन्दा ६० प्रतिशतले बढेको हो । ‘अन्य घटनाको तुलनामा आर्थिक अपराधका घटनामा वृद्धि भएको छ ’ डिएसपी रिजालले भने, आर्थिक अपराधका घटना हुन नदिन नागरिक स्वयम् सचेत हुनुपर्ने र आर्थिक अपराध कमी गर्न जनचेतना आवश्यक छ ।’
कार्यालयको अनुसार आर्थिक वर्ष ०७९/०८० मा आर्थिक अपराध सम्बन्धित २ सय ९४ वटा मुद्दा दर्ता भएका थिए । ती मध्ये  ५१ वटा ठगीका थिए भने २ सय ४३ वटा  सय बैङ्किङ कसुरका रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रिजालले जानकारी दिए ।  आर्थिक वर्ष ०७८/०७९ मा आर्थिक अपराध सम्बन्धी १ सय ७० वटा मुद्दा दर्ता भएका थिए । कुल दर्ता भएका मुद्दा मध्ये १ सय ४६ वटा बैङ्किङ कसुर र बाँकी ठगीका रहेको कार्यालयको अभिलेखमा उल्लेख छ । बैङ्किङ कसुरका सबै  बाउन्स चेकसँग सम्बन्धित रहेको प्रहरीको अभिलेखले देखाएको छ ।
पछिल्लो समय आर्थिक मन्दीले चेक बाउन्सका घटनासँगै बैङ्किङ कसुरका मुद्दा बढेको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरी अधिकारीका अनुसार, बैङ्किङ कसुरका मुद्दामध्ये सत प्रतिशत चेक बाउन्स सम्बन्धी छन् । ‘आर्थिक मन्दीको असरले पनि पछिल्लो समय चेक बाउन्सका मुद्दा बढेको हुनसक्छ’ प्रहरी प्रवक्ता रिजाल भन्छन्, यसरी बढ्दै जाने हो भने चालु आर्थिक वर्ष ०८०/०८१ मा ५ सय बढी पुग्ने अनुमान गर्न सकिन्छ । ’
आर्थिक वर्ष ०७८/०७९ मा ठगीका २४ र बैङ्किङ कसुर चेक बाउन्सका १ सय ४६ वटा सबै मुद्दा फछयौँट भएका छन् । गत आर्थिक वर्ष ०७९/०८० मा आर्थिक अपराध सम्बन्धित २ सय ९४ वटा मुद्दा मध्ये ठगीका १८ र बैङ्किङ कसुर चेक बाउन्सका ९३ वटा मात्र फछ्यौँट भएका छन् । बैङ्किङ कसुर चेक बाउन्सका १ सय ५० र ठगीका ३३ गरी कुल १ सय ८३ वटा चालु आर्थिक वर्षमा सरेर आएका छन् । जिल्लामा मुद्दा सङ्ख्या बढेपछि फछ्यौँटको अवस्था निकै कमजोर रहेको देखिन्छ ।  प्रहरीमा पीडितले दिएको जाहेरीका आधारमा आर्थिक वर्ष ०७८/०७९ मा ठगीका एक जना विदेशी पुरुषसहित ८ र बैङ्किङ कसुर चेक बाउन्समा एक महिलासहित १६ गरी कुल २४ जनालाई पक्राउ गरेको थियो ।
गत आर्थिक वर्ष वर्ष ०७९÷०८० मा बैङ्किङ कसुर चेक बाउन्समा चार जना पुरुषलाई ठगीका २३ गरी २७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीको अभिलेख अनुसार आर्थिक वर्ष ०७८/०७९  र ०७९/०८० को दुई वर्षमा ठगी र बैङ्किङ कसुर चेक बाउन्सका ४ सय ६४ वटा मुद्दा दर्ता भएकोमा २ सय ८१ वटा फछयौँट भएर १ सय ८३ वटा चालु आवमा सरी आएका छन् । सो घटनाको अभियोगमा ३ विदेशी पुरुष, ४२ स्वदेशी पुरुष र ६ महिलासहित ५१ जना पक्राउ परेका थिए । पीडितको उजुरीका आधारमा यसमा संलग्नलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान पश्चात् अदालतमा पठाउने र अदालतले धरौटी खुलाएर माग गरेपछि माग अनुसारको धरौटी बुझाएर अधिकांश छुट्ने गरेको प्रहरीको भनाई  छ । अदालतले खुलाएको धरौटी रकम बुझाउन नसक्ने थोरै मात्र कारागार जाने गरेको प्रहरीले जनाएको छ ।
कतिपय चेक बाउन्सका मुद्दा आर्थिक अपराधसँग जोडिने गरेका छन् । विदेश पठाइदिने, जग्गा मिलाइदिने लगायत नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका पनि पर्ने गरेका छन् । वैदेशिक रोजगार ठगीसँगै चेक बाउन्स बढेको एक जना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ । कतिपयलाई चेक बाउन्स सम्बन्धी मुद्दामा हुने सजाय थाहा नपाएर थोरै पैसा लिएर खाली चेक दिने र त्यसमा वास्तविकभन्दा धेरै भरेर पनि प्रहरीमा पुग्ने गरेको अनुभव प्रहरीसँग छ ।
सामान तथा सेवाको भुक्तानी नदिने, व्यवसायिक साझेदारीका नाममा धोका दिनेजस्ता घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा पुग्ने गरेका छन् ।
फिल्म बनाउन पैसा हाल्न लगाएर निर्माताले नै ठगी गरी खातामा पैसा नभई दिएका चेकसम्बन्धी घटनासमेत जिल्लाका पालिका स्तरीय न्यायिक समितिमा पुग्ने गरेका छन् । 
विगतमा चेक बाउन्सका घटनामा सीधै सर्वसाधारण चेक अनादर  मुद्दा दायर लिएर अदालत जान्थे । अदालत जाँदा अदालतको शुल्क तथा कानुन व्यवसायीमा खर्च हुने भएकाले अहिले सीधै प्रहरीमा जाने प्रवृत्ति बढेको प्रहरीको भनाई   । अर्कोतर्फ आरोपीलाई थुनामा राखेर पैसा तिराउने प्रवृत्ति पनि छ । केही वर्षयता बैङ्क तथा वित्तीय क्षेत्रमा बैङ्किङ कसुरका घटना बढ्दो छ । विगतका तुलनामा कसुरको प्रकृति भने बदलिएको प्रहरीको बुझाई छ ।
विगतमा बैङ्क सञ्चालकलगायत उच्चपदस्थ अधिकारीहरूकै कारणले हिनामिनाका घटना धेरै हुन्थे । अचेल अधिकांश घटनाहरू प्रविधिसँग सम्बन्धित रहेको विज्ञहरू बताउँछन्  । पछिल्लो समयमा भएका अधिकांश बैङ्किङ कसुरहरू एटिएम कार्ड, इन्टरनेट बैङ्किङ, स्विफ्टसँग सम्बन्धित भए पनि जिल्लमा यस्ता घटना नभएको प्रहरीको भनाई छ ।