सुनसरी । इटहरी अस्पतालमा डायलिसिस सेवा सुरु हुन ढिलाइ भएको छ ।
रोटरी क्लब अफ इटहरीले दुई महिनाअघि ६७ लाख रुपैयाँ बराबरको तीन थान डायलसिस मेसिन हस्तान्तरण गरे पनि सेवा सुरु हुन सकेको छैन । डायल सीस सेवा सुरु नहुँदा नगर बासी सेवा पाउनबाट वञ्चित भएका छन् ।
नगरमा रहेको एक मात्र सरकारी अस्पतालमा आइसियु, भेन्टिलेटर सहित डायलिसिस सेवा उपलब्ध हुँदा मिर्गौला रोगीहरूलाई उपचारका लागि विराटनगर र धरान धाउनुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको थियो ।
अस्पतालले रोटरी क्लब अफ इटहरीले हस्तान्तरण गरेको डायलिसिस मेसिन सञ्चालनको लागि आवश्यक जनशक्तिको रूपमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मौखिक सम्झौता गरे पनि सञ्चालनमा ढिलाइ भएको हो ।
रोटरी क्लबले अस्पताललाई एक बर्सअघि नै डायलिसिस सेवा सुचारु गर्नका लागि सबै तयारी गरी आग्रह गरे पनि जनशक्ति अभावमा काम अघि बढ्न सकेको थिएन ।
मेसिन सञ्चालनका लागि दुई महिनाअघि जडानका सम्पूर्ण प्रक्रिया पुरा गरी क्लबले अस्पताललाई मेसिन हस्तान्तरण गरे पनि सेवा सुरु हुन नसकेको हो । २०६८ ताका एक लाख ४० हजार मानिसको बसोबास रहेको इटहरी उपमहानगरपालिकामा १० वर्षको अवधिमा जनसङ्ख्या बढेर झन्डै दुई लाख पुगेको छ ।
तीव्र रूपमा जनघनत्व बढेसङै इटहरी अस्पतालमा डायलिसिस लगायतका सेवा बिस्तार नहुँदा यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाका लागि धरान, विराटनगर अथवा काठमाडौंनै पुग्नुपर्ने बाध्यता अझै कायमै छ ।
अस्पतालले भने जनशक्ति व्यवस्थापन गर्न ढिलाइ भएकाले सेवा सुरु गर्न नसकिएको जनाएको छ ।