इटहरी । इटहरी उपमहानगरपालिकाले डेंगी रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ ।

उपमहानगरले डेंगी सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुक्रवारदेखि सुरु गरेको हो । मेयर हेमकणर् पौडेलले सबै वडाबाट अभियान सुरु गरिएको जानकारी दिए ।

२० वटै वडाबाट बिहान ७ देखि ९ बजेसम्म खोज्ने र नष्ट गर्ने अभियान एकै साथ सञ्चालन गरिएको छ । प्रतिकूल मौसमका बाबजुद पनि डेंगीको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको इटहरी मेयर पौडेलले जनाए ।

टायर, ड्रम, गमला, फ्रिज, कुलर सहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ ।

डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेकोले सचेतना मूलक अभियानलाई व्यापक बनाइएको मेयर पौडेलले जनाए । यसअघि उपमहानगरले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सफाइ शाखाका कर्मचारीसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

उपमहानगरले डेंगी रोकथाम कालागि उपमहानगरका २० वटै वडामा खोज र नष्ट गर अभियानमा सबैलाई सहभागी हुन आग्रह पनि गरिएको छ । उपमहानगरले इटहरीवासीका लागि परीक्षण खर्च र अस्पताल खर्च निःशुल्क गरिदिने घोषणा गरिसकेको छ ।