सुनसरी । सुनसरी प्रहरीले १५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध रूपमा ल्याइएको खरबुजाको बीउ बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय दुहबी, सितागञ्ज र ट्राफिक प्रहरी पोस्ट दुहबीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका–२ स्थित केसलिया खोला क्षेत्रमा विराटनगर–देवानगञ्ज सडकखण्डमा सार्वजनिक सवारीसाधन जाँच गर्ने क्रममा उक्त बीउ बरामद गरेको हो।

प्रहरीका अनुसार असोज १९ गते साँझ करिब ५ः३० बजे नियमित चेकजाँचका क्रममा ३८ बोरा खरबुजाको बीउ फेला परेको थियो।

बरामद गरिएको बीउको तौल १ हजार ५२० किलोग्राम रहेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बरामद बीउको अनुमानित बजार मूल्य १५ लाख २० हजार रुपैयाँ पर्छ। बीउ अवैध रूपमा ल्याइएको प्रहरीको दाबी छ।

प्रहरीले बरामद बीउ आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धमा पठाउने तयारी गरेको जनाएको छ।

प्रहरीले चेकजाँचका क्रममा बीउ फेला परेको भए पनि कुन सवारीसाधनबाट ल्याइएको थियो र त्यसमा संलग्न व्यक्तिबारे थप विवरण सार्वजनिक गरेको छैन।