सुनसरी । युवा, श्रम तथा रोजगार मन्त्रालयले इटहरीमा आयोजना गर्न लागेको ‘सीप तथा रोजगार मेला’को तयारी थालेको छ ।

असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने मेलाको तयारीस्वरूप मन्त्रालयले बिहीबार स्थानीय तहका प्रमुख तथा उद्योगी–व्यवसायीसँग छलफल सुरु गरेको हो ।

‘सीप र रोजगारी : साझा जिम्मेवारी’ नारासहित आयोजना हुने मेलाको उद्देश्य उत्पादनशील रोजगारी सिर्जना, सीप विकास तथा श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नु रहेको मन्त्रालयले जनाएको छ ।

छलफलमा मन्त्रालयका सचिव दीपक काफ्लेले उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्धलाई बलियो बनाउन मेलालाई केन्द्रित गरिएको बताए । उनका अनुसार मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत १० वटा विधाका ६५ वटा स्टल रहनेछन् ।

मेलाको मुख्य अवधारणा ‘माग–सीप तालिम–रोजगार’ लाई एउटै प्रणालीमा आबद्ध गर्नु रहेको काफ्लेले बताए ।

श्रम बजारको आवश्यकताका आधारमा सीप तालिम सञ्चालन गरी रोजगारी सुनिश्चित गर्ने तथा रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने मेलाको लक्ष्य छ । मन्त्रालयका अनुसार मेलाले उद्योगी, श्रमिक, शैक्षिक संस्था र सरकारबीचको समन्वय तथा साझेदारीलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

तीनै तहका सरकार, निजी क्षेत्र र विकास साझेदारको सहकार्यमा मेला आयोजना हुन लागेको हो ।

मेलामा सुनसरी–मोरङ औद्योगिक करिडोरअन्तर्गतका विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, दुहबी नगरपालिका र कटहरी गाउँपालिकालगायत स्थानीय तहको सहभागिता रहनेछ।

कोशी प्रदेशका सबै १३७ स्थानीय तहलाई पनि मेलामा सहभागी गराइने मन्त्रालयले जनाएको छ ।