विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको नयाँ मिति सार्वजनिक गरे पनि केन्द्रमा विवाद कायमै छ । केन्द्रिय नेताहरुले समानान्तर महाधिवेशन गर्ने देखी काँग्रेस टुक्रिने सम्भावना रहेको अभिव्यक्ति दिइरहेका छन् ।
तर केन्द्रमा विवाद कायमै रहेपनि तल्लो तहमा भने महाधिवेशनको माहोल सिर्जना हुन थालेको छ । कार्यकर्ताहरुमा आसन्न महाधिवेशनलाई लिएर उत्साह छाएको देखिएको छ । वडा,नगर देखी जिल्ला तहका कार्यकर्ताहरुमा अधिवेशनका लागि जुट्न थालेका छन् ।
उनीहरूले वडा, गाउँ(नगर र जिल्लाका विभिन्न पदहरूमा उम्मेदवारीसमेत घोषणा गरेका छन्। एजेन्डासहित उम्मेदवारी घोषणा गरेका कांग्रेस नेता तथा कार्यकर्ताहरूले आफ्ना एजेन्डा र प्रतिबद्धतासमेत सार्वजनिक गर्न थालेका छन्।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको आधिकारिकतालाई लिएर तीव्र विवाद छ । यस्तै, क्रियाशील सदस्यताको विषयमा पनि विवाद कायमै छ। संस्थापनइतर समूहका नेता तथा मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले कार्यकर्ताहरू महाधिवेशनमा होमिसकेको बताए ।
उनले भने, ‘महाधिवेशनमा नजानुको विकल्प छैन, हामी महाधिवेशनमा होमिएका छौँ।’ उनी डा। शेखर कोइरालानिकट नेता हुन् । पूर्वमन्त्रीसमेत भइसकेका सभापति लिम्बूले क्रियाशील सदस्यताको विवाद लगभग मिलिसकेको दाबी गरे ।
डा। शेखरले पार्टी एकताका लागि राखेको ५ बुँदे प्रस्ताव मान्न संस्थापन पक्ष सहमत भए क्रियाशील सदस्यताको विवाद समाधान हुने उनले बताए । तोकिएकै मितिमा अधिवेशनहरू हुन नसके पनि एक–दुई दिन मात्र पछि सर्न सक्ने उनको भनाइ छ।
तीन महिनाअघि इतर समूहका नेता डा। शेखर कोइरालाले कांग्रेसभित्रको एकताका लागि ५ बुँदे प्रस्ताव अघि सारेका थिए। सुरुमा सो प्रस्ताव सभापति गगन थापा पक्षले अस्वीकार गरेको थियो। महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापति गगन थापा सो प्रस्ताव स्वीकार गर्ने विषयमा सकारात्मक बनेका थिए । वडा र गाउँ(नगर अधिवेशनका लागि तोकिएको मिति केही हेरफेर गरेर भए पनि मूल महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न सभापति सकारात्मक भएपछि चुनावी माहोल बनेको बताइएको छ ।
डा। कोइरालाले १४औँ महाधिवेशनपछि नवीकरण भएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यहरूलाई आधार मानेर १५औँ महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए। उनले २०८२ पुस १० गतेसम्म नवीकरण भएका सदस्यलाई मान्यता दिनुपर्ने प्रस्ताव गरेका थिए । लिम्बूले पनि २०८२ पुससम्म नवीकरण भएका सदस्यलाई मान्यता दिए क्रियाशील सदस्यताको विवाद मिल्ने बताए।
यता नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले पनि पार्टी महाधिवेशनमा होमिएको बताए ।
उनले भने, ‘कांग्रेसभित्र अधिवेशनको माहोल बनेको छ। वडा तहदेखि नै साथीहरूले उत्साहका साथ उम्मेदवारी घोषणा गरेका छन्।’ आफू पनि पुनः जिल्ला सभापति पदमा उम्मेदवारी दिने भण्डारीले घोषणा गरेका छन्।
नेपाली कांग्रेसले असोज ३ र ४ गतेका लागि गाउँ(नगर वडा अधिवेशनको मिति तोकेको छ। देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशनसँगै सोही दिन क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। असोज ७ गते एकै दिन गाउँ(नगर अधिवेशनको मिति तय भएको छ। यस्तै, असोज १० गतेका लागि प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति तोकिएको छ।
नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले एकताको महाधिवेशन सम्पन्न गर्न प्रयास भइरहेको बताए। उनले भने, ‘तोकिएकै समय र मितिमा अधिवेशन गरौँ भनेर हामी लागेका छौँ, कार्यकर्तामा उत्साह छ।’

















