इटहरी । श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठकमा नबोलाएपछि रणनीति तयार गर्न पूर्व सुदन किराँती समूहले छुट्टै भेलाको आयोजना गर्ने तयारी गरेको छ ।

श्रम सस्कृती पार्टीले आजबाट  आज धरानमा केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा ४ महिना अघि एकता गरेर आएका सुदन किराँती  समूहलाई नबोलाएपछि सो समूहले छुट्टै भेलाको आयोजना गर्न लागेको हो ।

चार महिनाअघि किराँती वरिष्ठ नेता बन्ने गरी श्रम संस्कृतिसँग एकता गरेका थिए । किराँती समूहबाट एक जना उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य सहित १८ जना पार्टी एकतामा समावेश भए । एकताअघि श्रम संस्कृतिमा २३ केन्द्रीय सदस्य रहेकोमा एकतापछि ४१ सदस्यीय बनेको थियो ।

पार्टी एकता भएको ४ महिनामै हर्क साम्पाङले सुदन समूहलाई केन्द्रीय समिति बैठकमै नबोलाएपछि दुई पक्षको मनमुटाब सतहमा आएको छ । हर्कको फेसबुक केन्द्रित गतिविधिप्रति किराँती पछिल्लो समय निकै असन्तुष्ट छन् । पार्टी एकता नै बिथोलिनेसम्मको अवस्था आएको यो समूहका नेताहरू बताउँछन् ।

स्रोतका अनुसार आज बैठक बस्न लागेको भनेर सुदन किराँतीलाई थाहा पत्तो नै दिइएको थिएन । हर्कसँग उनको प्रत्यक्ष सम्पर्क नभएको धेरै दिन भइसक्यो ।

स्रोतले भन्यो, ‘हर्क साम्पाङले फेसबुकबाटै पार्टी चलाइरहनुभएको छ । कसैसँग पनि छलफल र सरसल्लाह गर्नु हुन्न । सुदन किराँतीसँग पछिल्लो समय कुनै सम्पर्क छैन ।’

किराँती निकट एक नेताका अनुसार सैद्धान्तिक रूपमा भन्दा पनि साम्पांगको काम गर्ने शैलीका कारण पार्टीमा समस्या भएको हो । उनले भने, हामी जसरी पनि एकतालाई अगाडि बढाउनु पर्छ भन्नेमा छौ । तर अध्यक्ष ज्यूले फेसबुकबाटै पार्टी चलाउन खोज्नु भएको छ ।

किराँतीले साम्पाङसँग सम्पर्क नभएपछि आफूहरूलाई नबोलाउनुको कारणबारे पार्टीका अन्य नेताहरूसँग बुझेका थिए । ती नेताहरूले आजको बैठकमा एकताको निर्णय अनुमोदन गरेर भोलिबाट एकीकृत बैठक बस्ने जवाफ दिएका छन् । तर किराँती यसमा आश्वस्त छैनन् । उनले पनि भावी रणनीति बनाउन आफू निकटहरूसँग छलफल थालेको स्रोतले बतायो ।

‘अध्यक्षज्यूले नै पार्टी विभाजनतर्फ लानुभयो भन्ने आम कार्यकर्तामा चिन्ता प्रकट भयो । गत चुनावपछि श्रम संस्कृतिमा देखिएको जनसमर्थन नेतृत्वमा देखिएको यस किसिमको व्यवहारले भाँडिने जोखिम बढ्यो । त्यही पनि हाम्रोतर्फबाट पार्टी एकता बचाउने सक्दो प्रयास हुनेछ’, ती नेताले भने ।