सुनसरी । काठमाडौँस्थित शिक्षण अस्पतालको आइसियु बाहिर मङ्गलवार बिहानदेखि एउटा परिवारको एउटै प्रार्थना थियो— “जसरी भए पनि छोरा बचाइदिनुहोस् ।“ केही दिनअघि सङ्क्रमण फैलिन नदिन चिकित्सकले उनको बायाँ खुट्टा काटेका थिए ।
परिवारले मन बुझाएको थियो— खुट्टा नभए पनि छोरा बाँचोस्, त्यही धेरै हो । तर नियतिले त्यो प्रार्थना पनि सुनेन । उपचारकै क्रममा २१ वर्षीय रवीन्द्रकुमार मेहताले अन्तिम सास फेरे ।
रवीन्द्रको मृत्युसँगै सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा साउन १० गते भएको गोली काण्डले अर्को एउटा सपना पनि सधैँका लागि समाप्त गरिदियो ।
यो केवल एक युवकको मृत्यु होइन, एउटा सामान्य किसान परिवारले बर्सौँ लगाएर देखेको भविष्यको सपना पनि त्यहीसँगै समाप्त भयो ।
बुबा विजय मेहता र आमा विमलादेवी मेहताका एक मात्र छोरा थिए रवीन्द्र ।
दुई दिदीको विवाह भइसकेको थियो। कान्छी बहिनी प्रीति अझै घरमै थिइन् । परिवारको सबैभन्दा ठुलो भरोसा र आशा उनैमाथि थियो ।
विराटनगरस्थित विराट मोडेल कलेजमा बीबीएस तेस्रो सेमेस्टरमा अध्ययन गरिरहेका उनी पढाइसँगै परिवारको भविष्यबारे चिन्तित रहन्थे ।
कप्तानगञ्जको सानो गाउँमा रहेको थोरै जमिनमा तरकारी खेती र खेतीपाती गरेर घर चलाउने परिवारको आम्दानीले दैनिक खर्च धान्नै मुस्किल थियो ।
यही अवस्था देखेर रवीन्द्रले बाबुसँग भनेका थिए— “म कोरिया जान्छु, घरको अवस्था बदल्छु ।“ त्यसपछि सुरु भएको थियो एउटा नयाँ सङ्घर्ष ।
बुबा विजयले सके जति पैसा जोहो गरेर छोरालाई विराटनगरमा कोरियन भाषा पढ्न पठाए ।
रवीन्द्र बिहान कलेज जान्थे, फुर्सदमा भाषा कक्षामा पुग्थे । पहिलो पटक कोरियन भाषा परीक्षा दिए, तर उत्तीर्ण हुन सकेनन् ।
असफलताले उनलाई रोकेन । बरु उनी साथीहरूलाई भन्ने गर्थे, “अर्को पटक राम्रोसँग तयारी गर्छु, यस पटक पक्कै पास हुन्छु ।“ परिवार पनि यही आशामा थियो।
केही महिनापछि भाषा परीक्षा पास हुनेछ, त्यसपछि कोरिया उड्नेछ, ऋण तिर्नेछ, घर बनाउनेछ, बहिनीको पढाइ र बाबुआमाको दुःख कम गर्नेछ ।
तर जीवनले अर्कै मोड रोज्यो । भाषा कक्षाको बिचमा केही दिनका लागि उनी घर आएका थिए ।
त्यही बेला साउन १० गते कप्तानगञ्जमा दुई समूहबिच हिंसात्मक झडप भयो ।
झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली रवीन्द्रको बायाँ तिघ्रामा लाग्यो । केही क्षणमै परिवारको भविष्य रगतमा लतपतिएको थियो ।
सुरुमा विराटनगरको विराट नर्सिङ होममा उपचार गरियो ।
गोलीले खुट्टाको मुख्य नसामा गम्भीर क्षति पुर्याएको थियो ।
चिकित्सकहरूले शल्यक्रिया गरेर रक्तसञ्चार कायम राख्ने प्रयास गरे।
तर अवस्था सुधारिएन । सङ्क्रमण फैलिन थालेपछि उनलाई एयर एम्बुलेन्समार्फत काठमाडौँस्थित शिक्षण अस्पताल लगियो ।
परिवारका सदस्यहरू अस्पतालको प्रत्येक खबरसँग आशा र निराशाको बिचमा झुलिरहे । अन्ततः चिकित्सकहरूले ज्यान जोगाउने अन्तिम प्रयास स्वरूप गोली लागेको बायाँ खुट्टा नै काट्नुपर्ने निर्णय गरे ।
त्यो निर्णयले बाबुआमाको मन टुक्रिए पनि उनीहरूले एउटै कुरा भने— “खुट्टा गए पनि छोरा बाँचोस् ।“
तर सङ्क्रमण शरीरभर फैलिसकेको थियो । चिकित्सकहरूको सबै प्रयास असफल भयो ।
मङ्गलवार रवीन्द्रको मृत्यु भयो । अस्पतालको आइसियुबाट निस्किएको त्यो खबरले मेहता परिवारको संसार नै शून्य बनाइदियो ।
रवीन्द्रसँगै घाइते भएका उनका साथी देवानगञ्ज–३ का १८ वर्षीय अमित यादव अझै काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचाररत छन् ।
उनलाई विराटनगरको नोबेल शिक्षण अस्पतालबाट नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँ लगिएको थियो ।
घटनामा घाइते भएका अन्य छ जनाको विराटनगरस्थित न्युरो अस्पताल र विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
चिकित्सकका अनुसार उनीहरूको अवस्था क्रमशः सुधारोन्मुख छ ।
देवानगञ्जको यो घटनाले यसअघि नै दुई युवा गुमाइसकेको थियो ।
देवानगञ्ज–४ का ओमप्रकाश मेहता र देवानगञ्ज–३ का जयप्रकाश मेहताको पनि उपचारकै क्रममा मृत्यु भइसकेको थियो ।
रवीन्द्रको निधनसँगै मृतकको सङ्ख्या तीन पुगेको छ । तर सरकारी अभिलेखमा यो सङ्ख्या तीन मात्रै हो ।
देवानगञ्जका गल्लीहरूमा भने यी तीन सङ्ख्या होइनन्, तीन वटा अधुरा भविष्य हुन् ।
कसैका बाबुआमाको सहारा, कसैका दाजुभाइ, कसैका साथी र कसैका सपना हुन् ।
रवीन्द्रले पनि दक्षिण कोरिया पुगेर परिवारको दुःख अन्त्य गर्ने सपना देखेका थिए ।
तर नियतिले उनलाई विमान चढ्न दिएन । उनी आफ्नै गाउँको हिंसाको सिकार बने ।









