विराटनगर । नेपाली काँग्रेसले इलामका दुई वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसले निश्कल राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै क्षेत्र नम्बर २ बाट भने भोषराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आचार्य यस अघि इलाम क्षेत्र नम्बर १ मा भएको उप निर्वाचनमा पनि उम्मेदवारका आँकाक्षी थिए । तर त्यहाँ काँग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उप निर्वाचनमा खड्का एमालेका सुहांग नेम्बांगसँग पराजित भएका थिए । यस पटक भने आचार्यले काँग्रेसका तर्फबाट मौका पाएका छन् । इलाम क्षेत्र नम्बर २ बाट काँग्रेसका तर्फबाट उम्मेदवारको रूपमा निर्णय भएका निश्कल भने युवा हुन् । उनी नेपाली काँग्रेस इलाम १ (२) निर्वाचन क्षेत्र समितिका सभापति हुन्।
यस अघि एमालेले इलामका दुवै क्षेत्रबाट उम्मेदवारको टुङ्गो लगाइ सकेको छ । एमालेले इलाम क्षेत्र नम्बर १ बाट काजीमान कागते र दुईबाट सुहांग नेम्वांगलाई उम्मेदवारका रूपमा अघि सारेको छ । कागते २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा विजयी भएका थिए भने ७९को निर्वाचनमा भने सूर्योदय नगरपालिकाको मेयरमा पराजित भएका थिए । सुहांग भने उप निर्वाचनमा विजयी भएका थिए । एमाले उपाध्यक्ष तथा संविधान सभाका सभाध्यक्ष सुभाषचन्द्र नेम्बांगको निधन भएपछि भएको उप निर्वाचनमा एमालेले नेम्बांगका छोरा सुहांगलाई अगाडि सारेको थियो । यस्तै नेपाली कम्युनिस्ट पार्टीले इलाम इलाम २ मा ओमबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ । इलाम १ मा भने रणबहादुर राई उम्मेदवार बन्ने भएका छन् ।















