सुनसरी । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रचण्डको नाम सिफारिस भएको हो । उनीसँगै अन्य चार जनाको पनि नाम सिफारिस गरिएको छ ।
बुधबार बसेको निर्वाचन क्षेत्र नम्बर ४ स्तरीय बैठकले प्रचण्ड सहित महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमल बहादुर कट्वालको नाम केन्द्रिय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको हो ।
सुनसरीको क्षेत्र नम्बर ४ नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्की विजयी भएको क्षेत्र हो । यो क्षेत्रबाट कार्की २ पटक विजयी भइसकेका छन् । यस पटक पनि केही दिन अघि मात्रै नेपाली काँग्रेसको क्षेत्र नम्बर ४ समितिले ज्ञानेन्द्र बहादुर कार्की सहितका नेताहरुको नाम सिफारिस गरेको थियो ।
यहाँ २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट ज्ञानेन्द्र बहादुर कार्कीले विजयी हासिल गरेका थिए ।
यस्तै बैठकले सामानुपातिक तर्फ योगेन्द्र प्रसाद मण्डल (पप्पु) ,धर्मलाल उराँव, दिल महमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनको नाम सिफारिस गरेको बैंठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य पदम अधिकारीले जानकारी दिए ।
भोली जिल्लाका अन्य बाँकी ३ वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नाम निर्णय गरि केन्द्रलाई सिफारिस गरिने अधिकारीले बताए । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको लागि पार्टी कमिटि तयारीमा लागेको अधिकारीले जानकारी दिए । जिल्लाका सबै क्षेत्रमा पार्टी गतिविधि र कार्यक्रमहरुलाई अगाडी बढाइएको उनले जानकारी दिए ।

















