विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम सस्कृती पार्टीले उपाध्यक्ष राजकुमार तामाङ ( देवराज लामा ) लाई निलम्बन गरेको छ । बबरमहल बम विस्फोट काण्डमा दोषी देखिएको भन्दै प्रहरीले तामाङलाई पक्राउ गरेपछि सो पार्टीले निलम्बन गरेको हो । पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरीलाई अनुसन्धानमा बाधा नपुगोस् भनेर पार्टीको कुनै पनि पदमा नरहने गरी निलम्बन गरेको बताए । उनले अनुसन्धान नटुङ्न्जिेल सम्मका लागि निलम्बन गरेको समेत बताएका छन् । उनले राजनीतिक गतिविधिको कारण देखाउँदै प्रहरीले तामाङलाई पक्राउ गरेकाले अनुसन्धानमा आफ्नो पार्टीले बाधा नपुर्याउने बताए ।
पक्राउ परेका तामाङ विश्व क्रान्ति उपनामले संयुक्त जातीय मुक्ति मोर्चा नामक सङ्गठनमा रहेका थिए । सो सङ्गठनमा रहेका बेला काठमाण्डौं लगायत देशको विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोग तामाङ माथि लागेको छ । सो सङ्गठनले २०६८ फागुन १५ मा बबरमहलस्थित आयल निगम गेटमा भएको बम विस्फोट गराएको प्रहरीको दाबी छ । सो घटनामा ३ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । यस्तै पाँचथरमा एक जनाको ज्यान जाने गरी भएको घटनामा पनि उनी मुछिएका थिए । तत्कालीन समयमा यो सङ्गठनले भूमिगत रहेर हिंसात्मक गतिविधिहरू गरिरहेको थियो ।
विगतमा पक्राउ परेर जेल चलान भए पनि प्रजातन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएपछि २०७६ फागुन ७ गते तामाङ छुटेका थिए । उनी पाँचथरमा एक वालिकाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा पक्राउ परेका थिए ।

















