विराटनगर । २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका तारा सुब्बाको ७५ साउन १ गते निधन भयो । मेयरको निधन भएपछि  २०७६ मङ्सिर १४ मा उप निर्वाचन भयो । सो निर्वाचनमा स्वतन्त्र रूपमा उठेका हर्कराज राई ( हर्क साम्पाङ)ले जम्मा ५४० मत ल्याए ।

काँग्रेसबाट उम्मेदवार बनेको  तिलक राईले २६ हजार ७०९ मत पाउँदा एमालेका उम्मेदवार प्रकाश राईले  २३ हजार ९१४ मत पाए ।
तर ३ वर्ष पछि अर्थात् २०७९ को निर्वाचनमा भने नतिजामा उलट फेर आयो । ५४० मत ल्याएका तिनै हर्क साम्पाङ धरानको मेयरमा निर्वाचित भए ।

उनले गठबन्धनमा गएको काँग्रेस माओवादी र बलियो एमालेका उम्मेदवारलाई पाखा लगाए । कम्युनिस्ट किल्लाको रूपमा चिनिएको धरानमा स्वतन्त्र रूपमा उठेर  २० हजार ८२१ मत ल्याउँदै धरानको  मेयर पदमा विजयी बने ।  

धरानको मेयर निर्वाचित भएसँगै साम्पाङ सधैँ चर्चाको केन्द्रमा छन् । उनले धरानमा चलाएको श्रम अभियानले त चर्चामा छाँदै छ । उनले सामाजिक सञ्जालमा लेख्ने विवादास्पद स्ट्याटसले पनि उनी नेपाली राजनीतिको केन्द्रमा छाइरहेका छन् । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले निर्वाचित सरकारलाई अपदस्त गर्‍यो । त्यसपछि उनी प्रधानमन्त्री बन्न धरानबाट राता रात काठमाडौँ हानिए । उनका समर्थकले राईलाई प्रधानमन्त्री बनाउन दबाब बढाउन जङ्गी अड्डा अगाडि प्रदर्शन नै गरे । 

उनको माग र शुभेच्छुकको प्रदर्शन पछि प्रधानमन्त्री बन्न नसकेपछि उनी धरान फर्किए र सामाजिक सञ्जाल मार्फत राष्ट्रियताको चर्को नारा लगाए । 
अहिले समय फेरिएको छ । आन्दोलन पछि प्रतिनिधि सभा विघटन भएको छ र ताजा जनादेशका लागि फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।  निर्वाचनको मिति तोकिएसँगै धरानमा आएको मत परिणाम र सामाजिक सञ्जालमा उनका फ्यान फलोइङ्ग बढेपछि  हौसिएका साम्पाङले आफ्नै नेतृत्वमा श्रम सस्कृती पाटी गठन गरेका छन् । 

576526578_991790303638841_4612864757825605622_n

निर्वाचन आयोगमा कार्त्तिक १६ गते  श्रम सस्कृती पाटी दर्ता गरेसँगै उनले  पाटी विस्तारको अभियान तीव्र बनाएका छन् । दल दर्तासँगै  उनी नेतृत्वको श्रम सस्कृती पाटी सङ्गठन विस्तारका लागि विभिन्न जिल्लामा पुगिसकेको छ । 

ठुला भनिएका दलहरू आन्दोलन पछि पर्ख र हेरको अवस्थामा छ । कति पय दलहरूले आफ्ना राजनीतिक कार्यक्रमहरू गर्न सकिरहेका छैनन् । तर सामाजिक सञ्जालबाटै स्वतन्त्र रूपमा धरानको मेयरमा निर्वाचित भएका साम्पाङ नेतृत्वको पाटीले कोशी प्रदेशका विभिन्न सहर र जिल्लामा ठुला ठुला सभा गरिसकेको छ । धेरैको अनुमान विपरीत उनका सभाहरूमा सर्वसाधारणको भिड देख्न सकिन्छ । 

दल दर्ता गरेसँगै श्रम सस्कृती पाटीले सुनसरीको तरहरामा पहिलो पटक आम सभाको आयोजना गर्‍यो । 
त्यस लगत्तै मोरङको लेटाङमा पनि उनी नेतृत्वको श्रम सस्कृती पाटीको आम सभा सम्पन्न भयो । त्यसपछि उनी र उनको पार्टीले कार्त्तिकको १८ गते पाँचथरको फिदिममा आम सभा आयोजना गर्यो  ।

पाँचथरमा भएको उनको आमसभामा हजरौको सहभागिता देखियो । कार्यक्रमका प्रचार प्रसार संयोजकले ५ हजार भन्दा बढिले श्रम सस्कृती पाटीमा प्रवेश गर्नका लागि नाम टिपाएको दाबी गरे । उनले केही नाम समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । 

पाँचथरका पत्रकार खविन लुइँटेलले सामाजिक सञ्जालमा पाँचथरको फाल्गुननन्द गाउँपालिकाबाट विभिन्न पाटी छाडेर श्रम सस्कृती पाटीमा प्रवेश ६९ जनाको  नामावली नै लेखेका छन् । सो नामावलीमा विभिन्न पाटीका पालिका स्तरीय नेताहरू समेत रहेका छन् ।  

यस्तै सो पाटीले इलामको माङ्सेबुङ्गमा समेत आम सभाको आयोजना गरिसकेको छ । पहिचानवादीहरूको गढको रूपमा चिनिएको इलामको माङ्सेबुङ्गमा  समेत साम्पाङ्गलाई सुन्न टाढा टाढाबाट सर्वसाधारणहरू भेला भएका थिए । 

श्रम सस्कृती पाटीका प्रवक्ता सत्य घलेले दल दर्ता भएसँगै पाटी सङ्गठन विस्तारमा लागेको बताए । उनले भने,‘ हामी देश व्यापी सङ्गठन विस्तारमा लागेका छौ । अहिले हामी पूर्वमा मात्रै सीमित भएका छैनौ । देशका विभिन्न स्थानबाट हामीलाई आमसभाका लागि निमन्त्रणा आइरहेको छ । ’

उनले पाटीले आकार लिँदै गएको दाबी गरे । उनका अनुसार मङ्सिरको ११, १२ र १३ गतेका लागि आमसभाका लागि मिति र स्थान तय भइसकेको छ । ११ गते ताप्लेजुङ, १२ गते तेह्रथुम र १३ गते संङ्खुवा सभामा आमसभाका तयारी भइरहेको छ । 

श्रम सस्कृती पाटीका अध्यक्ष समेत रहेका साम्पाङले पनि आफ्नो फेसबुकमा पोखरामा समेत आमसभा हुन लागेको लेखेका छन् । उनले लेखेको छन्,‘अब हामी पोखरामा जागरण ल्याउन आउंदैछौँ श्रम संस्कृति फैलाउन । बि रेडी पोखरा । ’ उनले पोखरामा हुने कार्यक्रमको मिति भने उल्लेख गरेका छैनन । 

प्रवक्ता घलेले पोखरा बाहेक मङ्सिर २० गते मकवानपुर, २१गते चितवन, २२ गते काभ्रे जिल्लामा श्रम सस्कृती पाटीको कार्यक्रम गर्ने मिति तय भएको बताए । उनले भने हामी पहिलो चरणमा जिल्लाहरूमा कार्यक्रम गर्दै जाने छौ । कार्यक्रमसँगै पाटीको तदर्थ समितिहरू बन्ने छ ।’ अहिले तदर्थ समिति मात्रै बनाउँदै जाने हो । पछि हामी कमिटी बनाउने तयारीमा रहेका छौ । 
फेसबुकबाटै हुन्छ संयोजन 
श्रम सस्कृती पाटीले सङ्गठन विस्तारका लागि सामाजिक सञ्जालको अधिकतम उपयोग गरेको देखिएको छ । सङ्गठनका लागि फेसबुकबाट संयोजनको काम भइरहेको प्रवक्ता घलेले बताए । उनले भने, हामीसँग साथीहरू सामाजिक सञ्जालबाटै जोडिनु भएको छ । हामी त्यही अनुसार नै पाटीमा साथीहरूलाई जोड्दै गइरहेका छौ ।
 
उनले पाटीको सदस्यताका लागि एप्स र वेभ साइड निर्माणको चरणमा रहेको जानकारी दिए । उनले भने, केही समय पछि एप्स र वेभ साइड लन्च गर्छौ त्यहीबाट सदस्यता वितरणको काम हुने छ । भेटघाट र काम नहेरेका कारण अहिले बनेका सबै समितिहरू तदर्थ समिति मात्रै हुन् घलेले भने ।

श्रम सस्कृती पाटीको विधान के हुने र कार्यदिशा के हुने भन्ने अझै स्पाष्ट  छैन । तर साम्पाङले भने सामाजिक सञ्जालमा सधैँ श्रमदानको मुद्दा उठाइरहेका छन् । 

उनले धरानमा चलाएको श्रम अभियानका बारेमा केही प्रश्नहरू छन् । दाताहरूले दिएको रकमको पारदर्शिता नभएको भनेर आलोचना भइरहँदा पनि साम्पाङ लेख्छन्, ‘अरू कार्यकर्ता बनाउँछन्  । हामी श्रमदाता । अरू पार्टी बनाउँछन् । हामी देश । तीन करोड नेपालीको छ करोड हात  चलाउनु पर्छ एकै साथ ।  कलमले मात्रै बन्दैन देश ।  औजार चलाउनु पर्छ । नीतिले मात्रै बन्दैन देश ।  श्रमदान गर्नु पर्छ ।’

उनले श्रम संस्कृतिको परराष्ट्र नीतिमा असंलग्न नीति रहने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘ सबैसँग मिल्नेछौँ तर ध्रुवीकरणको नीति लिनेछैनौ । एमससीस का मतियारहरूले नयाँ पार्टी खोलेको कुरा छ ।  बुद्ध जन्मेको माटोमा नो विदेशी हतियार । 

उनले कार्यकारी प्रधानमन्त्रीको मुद्दा पनि जोड तोडका साथ उठाउने गरेका छन् । उनी सामाजिक सञ्जालमा लेख्छन्,‘जनता द्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुन्ने व्यवस्था ल्याउनु पर्छ र अहिलेका दलाली र भागबन्डा गर्नेहरूलाई खाडीतिर एक दुई वर्ष अनुभवकै लागि भए पनि पठाउनु पर्छ । 
विधान तयार हुँदै 
निर्वाचन आयोगमा दल दर्ता भएर सङ्गठन विस्तारमा लागे पनि उनको पाटीको विधान भने अझै बनी नसकेका प्रवक्ता घलेले बताए । उनले दुई चार दिनमै पाटीको विधान तयार गरी सार्वजनिक गर्ने बताए । उनले भने, हामी अन्तिम चरणमा छौ ।
केही दिनमै सार्वजनिक गर्ने छौ । उनले पाटीको विधानको ९५ प्रतिशत काम साम्पाङले नै लेखेको बताए । मेयर सावले धेरै काम गर्नु भएको छ । अव पदाधिकारीसँग छलफल गरेर अन्तिम चरणमा पुग्ने छ ।

उनले श्रम सस्कृती पाटीको  प्रदेश संरचनाको बारेमा भने फरक मत रहेको बताए । उनले भने ‘हामी प्रदेशको संरचना हुनु हुँदैन भन्ने पक्षमा छैनौ । चर यसलाई सुधार्न पर्छ भनेका छौ । ’प्रदेश संरचनाको बारेमा अध्यक्ष साम्पाङले लेखेका छन्, ‘ प्रादेशिक संरचनामा व्यापक फेरबदल ल्याएर राज्यको फजुल खर्च घटाएर जनताको सेवा, सुशासन र विकासमा खर्च गरिनेछ ।

उनले कसरी प्रदेशको संरचनालाई जनताको सेवामा लगाउने भन्नेमा चाहिँ खुलाएका छैनन् । श्रम सस्कृती पाटीले अहिले सम्म प्रादेशिक समितिहरू बनाएको छैन । पहिला जिल्ला तहको संरचना बनाइसकेपछि प्रादेशिक संरचनामा जाने तयारी रहेको प्रवक्ता घलेले बताए ।