इटहरी । सुनसरीबाट प्रहरीले ठुलो परिणामको लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। इटहरी उपमहानगरपालिका–१२ स्थित ‘नसिब फार्मेसी’बाट लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले दम्पतीलाई पक्राउ गरेको हो ।
प्रहरीले इटहरी–१२ को नसिब फार्मेसी’मा छापा हानेर फार्मेसी सञ्चालक ५० वर्षीय नसिवनारायण चौधरी र उनकी पत्नी सम्झना चौधरीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। लुकाई छिपाइ सिमेन्टको बोरामा राखिएको लागु औषध प्रहरी पुगेपछि सम्झनाले छतमाथिबाट बाहिर फालेको प्रहरीले जनाएको छ।
नसिवलाई घरको आँगनबाटै र सम्झनालाई छतबाट लागु औषध बाहिर फाल्दै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले फार्मेसीबाट १९ हजार ८ सय क्याप्सुल ट्रमा डोल र डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

















