इटहरी । सूर्य उपासना अर्थात छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ ।
आज इटहरीको बुढीखोला किनारमा बनाइएका घाटहरुमा उल्लासपूर्ण वातावरणमा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिए ।

अब भोली छठ पर्वको दोस्रो मुख्य र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिनेछ ।
आज ब्रतालुहरु रातभर नदि किनारमा नै रातभर जाग्राम बस्ने गर्दछन् । भोली बिहान उदाउँदो सुर्यलाई अर्घ्य दिनेछन् ।

विगतका बर्षहरुमा भन्दा यस बर्ष बुढीखोला किनारमा मानिसहरुको ठुलो भिड लागेको थियो । नदि किनारका घाटमा पूजा गर्न तथा रमाईलो गर्न मानिसहरुको ठुलो भिड उपस्थित भएको देखिएको छ ।
विशेष गरी पूजा गर्न तथा रमाईलो हेर्नका लागि पहाडे समुदायका मानिसहरुको संख्या अत्यधिक देखिन्छ ।

ब्रतालुहरु तराई समुदायका भएपनि छठ पर्वको रमाईलो हेर्ने भने पहाडे समुदायको सख्या बढि देखिएको हो । यसले समाजमा छठ पर्वको महत्व बढ्दै गएको साथै सामाजिक सद्भाव र एकता वृद्धि हुँदै गएको देखिएको छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेका कारण पनि मानिसहरुको सहभागिता बर्षेनी बढ्दै गएको पाईन्छ ।

नदिमा घाटहरुको सख्ंया पनि बढेको छठ पर्व सेवा समितिले जानकारी दिएको छ । यस बर्ष पूजा स्थललाई अझ व्यवस्थित गरिएको छ । बुढिखोला किनारलाई दुई तर्फ नै घाट बनाइएको छ । वारपार गर्न दुई ठाउँमा अस्थायी पुल निर्माण गरिएको छ ।



















