सुनसरी । सुर्य उपासनाको पर्व छठपर्वको दोस्रो दिन अन्र्तगत आज ‘खरना’ विधि पूर्वक मनाईदैछ । हिजो(शनिबार)कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालुले आज पञ्चमी तिथिका दिन ‘खरना’ मनाउँदैछन् । 


पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा खाने गर्छन् । 


आज दिनभरि उपवास गर्ने व्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । 


पर्वको तेस्रो दिन सूर्य उपासनाको निराहार व्रत बसेर व्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । यसलाई तराई, मधेशमा तथा मिथिला क्षेत्रमा सझिया घाटे भन्ने गरिएको छ ।  त्यसैगरी सप्तमीका दिन बिहान व्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ दिएर पर्व समापन गर्ने चलन छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, कसारसहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्‍याउन जाने परम्परा छ ।