सुनसरी । जेन जीको सोमबारको आन्दोलनमा इटहरी उपमहानगरपालिका र नगरप्रमुख हेमकर्ण पौडेल निशानामा परे ।
आन्दोलनको सुरुवात देखी नै उपमहानगरपालिका प्रवेश गर्न खोजेका प्रदर्शनकारी अन्ततः प्रहरी घेरा तोड्दै प्रवेश गर्न सफल भए ।
उनीहरूले नगरप्रमुख हेमकर्ण पौडेलको कार्यकक्षमा आगजनी गरे । आगजनीले कार्यकक्ष पूर्ण रूपमा जलेको छ । स्टोर रुमका कागजपत्रहरू जलेका छन् । नगरपालिका परिसर भित्र भएका प्राय सबै सवारी साधनहरूमा तोडफोड गरिएको छ ।
सोमबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको आक्रोश नगरप्रमुख पौडेल र उपमहानगरपालिका प्रति देखिन्थ्यो ।
देशभर भएको आन्दोलनमा अन्यत्र पनि सरकारी कार्यालय नै टार गेटमा थिए । तर इटहरीमा नगरप्रमुखलाई निशाना बनाउनु, उनकै कार्यकक्षमा आगजनी गर्नु र उनको घरमा समेत गएर तोडफोड गर्न खोज्नुले जेन जीको निशानामा उनी थिए भन्ने स्पष्ट हुन्छ ।
प्रदर्शनमा उत्रिएका उनीहरूले नगरप्रमुख पौडेल विरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरूले इटहरीको भष्ट्राचारको विषय उठाएका थिए ।
उनीहरूले नगरप्रमुख पौडेल विरुद्धका प्ले कार्ड बोकेका थिए । नगर बस सेवा कि स्क्याम भन्दै नगर बस खरिदमा भ्रष्ट्राचार भएको विषय उनीहरूले उठाए । देशको मेयर की विदेशको भन्दै प्रश्न गरेका छन् ।
मेयर पौडेलको पछिल्लो व्यवहार शैली र विलासिताको विषय उनीहरूले नारामा उठाएका थिए । कार्यालय परिसर तोडफोड गरेको आक्रोशित भिड मेयर पौडेलको घर सम्म पुगेको थियो । उनको घरमा पनि तोडफोड गर्न खोज्दा प्रहरीले बल प्रयोग गरी तितरबितर पारेको थियो ।
इटहरी उपमहानगरपालिकामा तीव्र भ्रष्ट्राचार बढेको, त्यो लुकाउन मेयर पौडेलले नागरिकको मुख थुन्ने प्रयास गरेको, प्रहरी लगाएर धम्क्याउने जस्ता कामलाई जेन जी पुस्ताले नजिकबाट नियाली रहेको एक प्रदर्शनकारीले बताए । 
मेयर हेमकणै पौडेलको पछिल्लो व्यवहारले नागरिकमा तीव्र असन्तुष्टि बढेको थियो । नगर बस खरिदमा भ्रष्ट्राचार भएको विषय, ठुला सवारी साधन खरिदको आर्थिक अपारदर्शिता, भौतिक पूर्वाधार निर्माणको काम हुन नसक्नु, भुक्तानी दिन नसक्नु जस्ता कारणले नगरवासीमा तीव्र असन्तुष्टि छाएको थियो । बजेटको विषयमा जनप्रतिनिधिहरूको आरोप प्रत्यारोप लगाउँदै विकास निर्माणको काम ठप्प हुँदा पनि नागरिकमा निराशा छाएको थियो ।
त्यसमा पनि मेयर हेमकर्ण पौडेलको व्यवहार प्रति सबैभन्दा धेरै असन्तुष्ट देखिएका थिए ।
विकास निर्माणको विषयमा आवाज उठाउँदा नगरप्रमुखले प्रहरी लगाएर नागरिकको मुख थुन्ने प्रयास भएको थियो ।
गत महिना मेयर पौडेलले एक किशोरीले हिलाम्मे बाटो बनाउन ध्यान नदिएको भन्दै टिकटकमा भिडियो हालेपछि उनको सचिवालयले प्रहरीमा लगेर लिखित कागज गराएर छोडेका थिए । यस घटनाले नागरिकमा असन्तुष्टि बढेको थियो । समाचार लेख्ने पत्रकार प्रति लाञ्छना लगाएपछि पत्रकारहरू पनि उनी प्रति असन्तुष्ट भएर आन्दोलित नै छन् ।
नेपाल पत्रकार महासङ्घ सुनसरीले चरणबद्ध आन्दोलन गरिरहेको छ । पत्रकारहरूको आन्दोलनलाई नजर अन्दाज गर्दै मेयर पौडेलले बेवास्ता गर्दै आएका छन् । यी लगायत थुप्रै घटनाहरूको किनारा साक्षी बसेर नियालिरहेका जेन जी पुस्ताको आक्रोश सोमबार उपमहानगरमा पोखिएको हो ।
उपमहानगरमा बढेको बेथिति, भ्रष्ट्राचार र सोलाई लुकाउन नागरिकको मुख थुन्न खोज्ने प्रवृत्ति नै मुख्य कारण देखिएको प्रदर्शनकारीको भनाई छ ।