इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेलले पत्रकार प्रति गरेको टिप्पणीको विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरीले सडक आन्दोलन सुरु गरेको छ । मेयर पौडेललाई ध्यानाकर्षण पत्र बुझाएर माफी माग्न आग्रह गर्दा पनि उनले टिप्पणीको पुष्टि गर्न नसकेपछि महासंघले इटहरीको सङ्गीत चोकमा ऐक्यबद्धता सभा आयोजना गरेको हो ।
महासंघ सुनसरीले लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यबसायीक पत्रकारिताको पक्षमा ऐक्यबद्धता सभाको आयोजना गरेको हो । ऐक्यबद्धता सभामा इटहरीका नागरिक समाज, व्यवसायी र राजनीतिक दलहरूले लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यबसायीक पत्रकारिताको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।
ऐक्यबद्धता सभामा बोल्दै नागरिक समाज इटहरीका अध्यक्ष आरके राईले इटहरीको नागरिक समाज सधैँ लोकतन्त्र र व्यबसायीक पत्रकारिताको पक्षमा रहेको बताए । उनले भने, लोकतन्त्रमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहन्छ । इटहरीको नागरिक समाज सधैँ प्रेस स्वतन्त्रता पक्षमा छ ।
उनले इटहरीका मेयर हेमकर्ण पौडेलले सामाजिक सञ्जालमा गरेको टिप्पणी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बन्देज लगाउने किसिमको भएको बताए ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले इटहरीका मेयर हेमकर्ण पौडेलको अभिव्यक्ति निन्दनीय भएको भन्दै प्रेस स्वतन्त्रता र व्यबसायीक पत्रकारिताको पक्षमा रहेको बताए । ऐक्यबद्धता सभामा साहित्यकार मनुमञ्जिल, नागरिक समाज इटहरीका पूर्व अध्यक्षहरू वोदराज नेपाल, बद्री विशाल पोख्रेलले ऐक्यबद्धता सभामा सम्बोधन गरे ।
इटहरीका मेयर पौडेलले समाचार प्रकाशन र प्रसारण गर्नु अघि आफ्नो सचिवालयमा समाचार पठाउने र दानापानी नदिए समाचार छाप्ने भन्दै दुई साता अघि सामाजिक सञ्जालमा लेखेका थिए ।
मेयरले सामाजिक सञ्जालमा लेखेको प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै समाचार प्रकाशन गर्न अघि सचिवालयमा समाचार पठाउने र दानापानी नदिएपछि समाचार छाप्ने पत्रकारको नाम महासंघमा दिन आग्रह गरेको थियो ।
महासंघले ज्ञापन पत्र बुझाउँदै यसरी समाचार पठाउनेको नाम दिएर पुष्टि गर्न नसके आन्दोलनको चेतावनी दिएको थियो । महासंघले ज्ञापन पत्र दिँदा समेत मेयर हेमकर्ण पौडेलले आफूले लेखेको विषयमा पुष्टि गर्न नसकेपछि महासंघले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको नेपाल पत्रकार महासंघ सुनसरीका सचिव विनय वाह्कोटीले बताए ।
महासंघले पौडेलको पाटी नेपाली काँग्रेसको नगरदेखि जिल्ला हुँदै केन्द्रीय समिति सम्म ध्यानाकर्षण पत्र बुझाउने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।