सुनसरी । कोसी प्रदेश सरकारले यस वर्षका लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेट नीति तथा कार्यक्रममा प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्धनलाई उच्च प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेर मनाउन सुरु गरेकाले प्राथमिकताको साथ बजेट विनियोजन गरेको जनाएको छ । कोसी प्रदेशमा यस्ता थुप्रै पर्यटकीय स्थलहरू रहेको र जसलाई बेचेर प्रदेश सरकार र स्थानीयले मनग्गे पैसा कमाउन सक्ने अपेक्षा प्रदेश सरकारको छ । सरकारले पर्यटन मैत्री व्यवहारको कमी, बाटोघाटोको दुरावस्था र पर्यटन विकासको स्पष्ट योजनाको अभावलाई समाधान गर्दै आफ्‌नो लक्ष्य पुरा गर्ने जनाएको छ । 
      कोसी प्रदेशमा ८ हजार मिटर भन्दा अग्ला कञ्चनजङ्घा, मकालु, कुम्भकर्ण मात्रै होइन संसारकै सबै भन्दा अग्लो हिमाल सगरमाथा पनि छ । यो बाहेक प्राकृतिक छटाले भरिपूर्ण थुप्रै स्थानहरू पनि यहाँ छन् । धार्मिक पर्यटनको कुरा गर्ने हो भने पाथीभरा, हलेसी, वराहक्षेत्र, पिण्डेश्वर दन्तकाली जस्ता मठ मन्दिर पनि कोसी प्रदेशमै धेरै छन् । तर त्यहाँ सम्म पुग्नका लागि बाटो घाटोको अवस्था भने राम्रो छैन । भएका बाटोमा पनि व्यवस्थित यातायातको व्यवस्था राज्यले गर्न सकेको छैन । धार्मिक पर्यटकीय स्थल वराहक्षेत्रमा पनि बाटोघाटो पटक पटक बिग्रने गरेको छ । स्थानीय हरिकृष्ण भट्टराईका अनुसार बाटो राम्रो छैन । पर्यटक मैत्री व्यवहार र सिप स्थानीय छैन । मनोरञ्जन र खानपानको व्यवस्था नहुँदा पर्यटक आएर पनि  पैसा खर्च हुन नसकिरहेको बताउँछन् । तर यी सबै समस्या समाधान हुने क्रममा रहेकाले पर्यटन वर्षमा उल्लेख्य मानिसहरू ऋाउने प्रदेश सरकारका बन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डल बताउनुहुन्छ । 
   संघीयता कार्यान्वयनको पहिलो वर्ष नै कोसी प्रदेश सरकारले ५ वर्ष भित्रमा प्रदेशमा ५ लाख पर्यटक भित्राउने लक्ष्य राखेको थियो । यसका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने नीति तथा कार्यक्रममै उल्लेख गरेर काम गरेको थियो । तर त्यो बेला पर्यटनको विकासमा साझेदारी गर्ने प्रदेश सरकारले नीति र योजना भने स्पष्ट नहुँदा केही समस्या उत्पन्न भएको थियो । अहिले पनि पर्यटन क्षेत्रमा अनुदान, भन्सार छुट र सहुलियत दरको ऋणको व्यवस्था नभएसम्म पर्यटनमा निजी क्षेत्रको लगानी नबढ्ने पर्यटनकर्मीहरू बताउँछन् । मुनाफाको ग्यारेन्टी नभएसम्म पर्यटनमा लगानी नबढ्ने पर्यटनकर्मी एवंम जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेज बहादुर पुरी बताउनुहुन्छ । प्रदेशको आर्थिक विकासमा पर्यटनलाई प्राथमिकतामा राखे पनि अझै पर्यटनलाई उद्योगको रूपमा नहरेएिको, अनुदान र ऋणको व्यवस्था नभएकाले पर्यटनमा ढुक्कसँग लगानीको वातावरण नभएको पुरीको भनाई छ ।  
    कोसी प्रदेशको विकासका लागि पर्यटन पूर्वाधारको विकास गर्ने र यसबाट मनग्ये आम्दानी गर्ने योजना प्रदेश सरकारको छ । यसका लागि केही महत्वकाक्षी र दीर्घकालीन योजना पनि अघि सारिएको छ । धार्मिक र पर्यटकीय र ऐतिहासिक स्थलहरूलाई जोड्ने गरी विजयपुर वराहक्षेत्र सर्किट र शत्तिपीठ सर्किट बनाउने योजना पहिलेदेखीनै छ । यो बाहेक बिमान्स्थलको निर्माण, स्तरोउन्नती र केबलकार सञ्चालनको योजना पनि कोसी प्रदेश सरकारले नागरिक सामु बाँडेको छ । पर्यटन क्षेत्रको जति विकास हुन्छ त्यति आम्दानी बढ्छ । आम्दानी बढेपछि सुखी नेपाली सम्बृद्ध नेपालको सपना साकार हुने भएकाले यस वर्षको नीति तथा कार्यक्रममा पर्यटनलाई उच्च प्राथमिकता दिएको कोसी प्रदेश सरकारका बन वातावरण तथा पर्यटन मन्त्री मण्डलको दाबी छ ।   
     पर्यटन क्षेत्रको विकास भनेको पर्यटक भित्राउनु मात्रै होइन । पर्यटकले आएर गर्ने खर्च प्रमुख कुरा हो । यसका लागि पर्यटकलाई भुलाउने र रमाउने वातावरण बनाउन सक्नु पर्ने पर्यटनकर्मी रबिन गौतम बताउँछन् । सरकारले पूर्वाधार विकासमा लगानी गर्ने र निजी क्षेत्रले आएका पर्यटकलाई मनोरञ्जन दिलाई उनीहरूको पैसा खर्च गर्न सक्ने अवस्था सृजना गर्न सके मात्रै वास्तविक अर्थको पर्यटनको विकास हुने र यसका लागि राज्य र निजी क्षेत्रको समन्वयको खाँचो देखिएको गौतम औल्याउछन ।