सुनसरी । मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएपछि सङ्घीय संसद् अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले देशभरका निकुञ्ज, मध्यवर्ती क्षेत्र र आरक्ष क्षेत्रका मानिसहरूको मानव अधिकार हनन बारे सुझाव सङ्कलन सुरु गरेको छ ।  
मानव अधिकारको अवस्था बुझ्न सुनसरी आइपुगेको सङ्घीय संसद् अन्तर्गतको समितिले बुधवार कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बसोबास गर्दै आएका मानिसहरूसँग कुराकानी गरेको छ । 
समिति सभापति विमला सुवेदीको नेतृत्वमा आएको संसदीय समितिको टोलीलाई कोशी टप्पु आरक्ष क्षेत्रका स्थानीयहरूले वर्षौँ देखी भोग्दै आएका पिडा सुनाए ।  
जङ्गली जनावरले दैनिक जसो दुःख दिने गरेको पिडा सुनाउँदै स्थानीयले क्षतिपूर्तिको कानुन सुधार गरिदिन आग्रह गरे । हात्ती, अर्ना लगायत अन्य जङ्गली जनावरले घर भत्काइदिने, बाली खाइदिनाले दैनिक जीवनयापन कष्टकर हुँदै आएको स्थानीयले गुनासो गरेका छन् ।  
जङ्गली जनावरले लगाएको बाली खाँदा क्षतिपूर्ति पाउन समस्या भएको स्थानीय अगुवा रविन घिमिरेले गुनासो गरे ।
‘वर्ष एक पटक मात्र बालीको क्षतिपूर्ति दिने प्रावधान छ तर किसानले वर्षमा तीन बाली लगाउँछन्, त्यो बालीको क्षतिपूर्ति दाबी गर्न पाउँदैनन् ।’ घिमिरेले सुनाए । 
उनले बाली क्षतिपूर्ति नियमलाई संशोधन गर्दै सहज बनाउन सांसदहरूसँग आग्रह गरे । कोशी टप्पु वन्यजन्तु आरक्षको क्षेत्र विस्तार गरे मात्रै कोशी टप्पुलाई संरक्षण गर्न सकिने उनले बताए । 
यस्तै स्थानीय चक्र तिम्सिनाले कोशी टप्पु वन्यजन्तु आरक्ष घरेलु छाडा जनावरले भरिएको सुनाए । जङ्गली जनावर हेर्न आउने पर्यटकहरू घरेलु जनावरले टप्पु भरिएपछि आउन छाडेको चरा अवलोकनकर्ताको काम गर्दै आएका तिम्सिनाले वर्तमान अवस्था बारे बताए । 
koshi tappu 1

यता, आरक्षसँग सम्बन्धित ऐन कानुन नहुँदा व्यवस्थापन गर्न समस्या भएको कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र यादवले समितिलाई जानकारी गराए । 
कोशी टप्पुमा छाडा चरिचरण मुख्य समस्याको रूपमा रहेको बताउँदै संरक्षण अधिकृत यादवले विद्यमान ऐनमा छाडा जनावर नियन्त्रण गर्ने व्यवस्था नभएको,आरक्षको छुट्टै नियमावली नभएको, बालीको क्षतिपूर्ति सम्बन्धी कतिपय प्रावधानले क्षतिपूर्ति वितरणमा समस्या भएको जानकारी दिए । देखिएका कानुनी समस्याहरूलाई सम्बोधन गरिदिन उनले समिति समक्ष आग्रह गरे । 
कोशी टप्पु वन्यजन्तु क्षेत्र विस्तार गर्नुपर्ने आवश्यकता देखिएको उनले समितिलाई बताए । १० वर्ष अघिको अध्ययन प्रतिवेदनले पनि विस्तार गर्न सुझाव दिएको स्मरण गराउँदै संरक्षण अधिकृत यादवले जङ्गली जनावरको संख्या वृद्धिसँगै आरक्षको क्षेत्र पनि विस्तार गर्नुपर्ने बताए । 
सुनसरी आइपुगेको समिति तीन दिन सम्म सोही क्षेत्रका स्थानीयहरूसँग छलफल गरी सुझाव सङ्कलन गर्ने जनाइएको छ ।
समितिले कोशी टप्पुको स्थलगत अनुगमनसँगै जोडिएका स्थानीय पालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरूसँग छलफल गर्ने समिति सभापति विमला सुवेदीले जानकारी दिइन् ।  
कोशी टप्पु आरक्ष जस्तै देशका अन्य निकुञ्ज, मध्यवर्ती क्षेत्र र आरक्षहरूको अनुगमन गरी सङ्कलन गरिएको सुझावका आधारमा कानुन सुधार गर्न सरकारलाई निर्देशन दिने समिति सभापति सुवेदीले जानकारी दिइन् । 
कोशी टप्पु वन्यजन्तु आरक्ष रामसार क्षेत्रमा सूचीकृत छ । देशभरमा एक मात्र अर्ना संरक्षण क्षेत्रको रूपमा रहेको आरक्ष कोशी प्रदेशकै पर्यटकीय क्षेत्रको रूपमा रहेको छ ।