सुनसरी । धरानका मेयर हर्क साम्पाङ्गलाई आफुसँगै हिड्न प्रस्ताव गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मेयर साम्पाङ्गले भने व्यङ्ग्य गरेका छन् । 

माओवादीको भातृ सङ्गठन किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले मेयर साम्पाङ्गलाई परिवर्तनका लागि सँगै हिँड्न आग्रह गरेका थिए । 

सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, ‘मैले हर्क साम्पाङ्गलाई यस अघि नै लोकतन्त्रको सुन्दर फुल भनेको छु । यद्यपि उट्पट्याङ कुरा गर्नुहुन्छ । बेलाबेला नकारात्मक कुरा गर्नुहुन्छ । तपाईँले नकारात्मक कुरा गर्न जरुरी छैन । संविधानले दिएको अधिकार प्राप्तिका लागि हामीलाई साथ दिनुहोस् । भ्रष्टाचार अन्त्य गर्ने सुशासन कायम गर्ने र अधिकार प्राप्ति गर्न सडक सदनबाट लडौं । अब मेयर जीले त्यति धेरै नकारात्मक हुनु हुँदैन । हामी सँगै हिँड्न पर्छ । ’

तर अध्यक्ष प्रचण्डले गरेको राजनितिक भाषणलाई लक्षित गर्दै मेयर साम्पाङ्गले फेसबुकमा स्टाटस लेखेर व्यङ्ग्य गरेका हुन ।  मेयर साम्पाङ्गले फेसबुकमा लेखेका छन्, ‘पहिचानको नाममा फेरि राजनीतिक भाषण ! लाटाहरू झुक्किएको देख्दा चकित छु म ’ 

अध्यक्ष प्रचण्डले भाषणमा आफ्नो पार्टी कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नका लागि प्रतिबद्ध रहेको बताएका थिए । 

 त्यस्तो राजनितिक भाषण प्रत्याउने लाटाहरु भन्दै मेयर साम्पाङ्गले  तिखो व्यङ्ग्य गरेका हुन । 

सभामा प्रचण्डले भनेका थिए, ‘अहिले पनि हामीले १ नम्बर नै प्रदेश भनेका छौँ। हाम्रो पार्टी यस प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्छ भनेर लडिरहेकै थियो। अहिले पनि पहिचानकै आधारमा नाम हुनुपर्ने भन्ने सिद्धान्तबाट थोरै पनि विचलित भएका छैनौँ। तर, सङ्ख्याले केही कन्फ्यूजन भयो। हामीले केन्द्रमा समीक्षा ग¥यौँ र त्रुटि भयो भनेर सच्यायौँ। अब सङ्ख्या पुग्छ भने किरात, लिम्बुवान् र कोच भावना समेट्ने गरी प्रदेशको नामाकरण गर्नुपर्ने भन्नेमा दुविधा छैन । ’

अध्यक्ष प्रचण्डको यो भाषणलाई राजनितिक भाषणको संज्ञा दिँदै मेयर साम्पाङ्गले पत्याउनेहरु लाटा भएको र झुक्किएको देख्दा आफु चकित परेको उल्लेख गरेका छन् । 

मेयर साम्पाङ्गको यो कटाक्षलाई उनको उट्पट्याङ स्टाटस र अर्थपूर्ण व्यङ्व्य दुवै अर्थले चर्चा गरिएको छ ।