सुनसरी । भारत र पाकिस्तानबीच बढेको द्धन्द्धको असर नेपालको सिमा क्षेत्रमा समेत देखिन थालेको छ । विशेष गरी कोशी प्रदेशका नेपाल भारत सिमा जोडिएका जिल्लाहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

भारतसँग खुल्ला सिमाना जोडिएको सुनसरी जिल्लामा विद्यमान सुरक्षा व्यवस्थामा व्यापक परिवर्तन र कडा निगरानी सुरु गरिएको जिल्ला प्रशासन कार्यलय सुनसरीले जानकारी दिएको छ । 

सुनसरीको ६२ किलोमिटर खुल्ला सिमा भारतसँग जोडिएको छ । सुनसरीको कोसी ब्यारेजदेखि अमडुवा हुँदै भारतको सुपौल र अररिया जिल्लासँग जोडिएका नाका तथा आसपासका बस्तीहरूको गस्तिमा नेपाली सुरक्षाकर्मीहरूको संख्यामा वृद्धि गरिएको छ । 

सिमा क्षेत्रमा कुनै पनि अवाञ्छित गतिवधि भएमा तुरुन्त कारबाही गर्न निर्देशन दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए । 

विहिबार प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा प्रहरी प्रमुख सुमनकुमार तिम्सिना,नेपाली सेनाका प्रतिनिधि, सशस्त्र प्रहरी बलका प्रतिनिधि सहितको सुरक्षा टोलीले सिमासँग जोडिएका सुरक्षा पोष्टहरुको स्थलगत निरिक्षण गरेको थियो । 

निरीक्षणकै क्रममा एक जनालाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।  इनरुवा–८ निवासी जाविर हुसेन मियाँलाई नेपाल प्रहरीको नक्कली परिचयपत्र प्रयोग गरी भारत प्रवेश गर्न खोजेको आरोपमा पक्राउ गरिएको उपरिक्षक तिम्सिनाले जानकारी दिए । प्रहरी प्रमुख तिम्सिनाका अनुसार सीमामा अवाञ्छित तथा अपराधिक गतिविधि रोक्न उच्च सतर्कता अपनाएर चेकजाँचलाई बढाइएको छ ।

सुनसरीको खुला सीमावर्ती क्षेत्रमा नेपाल प्रहरीका १३ र सशस्त्र प्रहरी बलका ११ स्थायी युनिटहरू खटिएका छन् । 

हाल अस्थायी रूपमा थप ११ सुरक्षा युनिट स्थापना गरिएको छ । भारतीय पक्षबाट समेत तालिम प्राप्त सुराकी कुकुर परिचालन गरि सीमा निगरानी बढाइएको छ । 

यता, सीमा क्षेत्र हुँदै नेपाल–भारत आवतजावत गर्ने व्यक्तिहरूलाई सरकारी परिचयपत्र अनिवार्य गरिएको छ । खुल्ला सिमाबाट आवतजावत गर्ने व्यक्तिहरुको सुरक्षा निकायले विस्तृत विवरण राख्ने व्यवस्था मिलाएको छ ।