इटहरी । इटहरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा एमाले निकट प्यानल विजयी भएको छ ।  काँग्रेस, माओवादी, राप्रपा, एकीकृत समाजवादीको गठबन्धनलाई हराउँदै एमालेको प्यानल  विजयी भएको हो  । 
इटहरीमा आज भएको निर्वाचनमा एमाले प्यानलबाट अध्यक्षको उम्मेदवार भएका यामकुमार सुब्बा विजयी भए । 
उनले १२५ मत ल्याएका छन् ।
नेपाली काँग्रेस, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राप्रपा प्यानलबाट अध्यक्षको प्रत्याशी रहेको ठमनाथ लम्सालले ४७ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमाले प्यानलका प्रेम बस्नेत विजयी भएका छन् । उनले १२२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी रमेश अधिकारीले ४८ मत ल्याएका छन् । 
यस्तै महासचिवमा पनि एमाले प्यानलकै शालिग्राम ढकाल विजयी भएका छन् । उनले ११९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी बालकृष्ण विष्टले ५३ मत ल्याएका छन् । सचिवमा एमाले प्यानलका लोकनाथ भट्टराईले १३० मत ल्याए ।
रुद्रबहादुर अधिकारीले भने ४१ मत ल्याएका छन् । कोषाध्यक्षमा गङ्गा प्रसाद दाहालले ११८ मत ल्याउँदा वीरेन्द्र गुरुङले ५० मत ल्याए । 
यस अघि चैत्र २४ गते खानेपानी परिषद् सदस्यको निर्वाचन भएको थियो । २३ हजार २ सय खाने पानीका उपभोक्ताहरूले १८३ जना परिषद् सदस्य निर्वाचित गरेका थिए । निर्वाचित परिषद् सदस्यले पदाधिकारीका लागि मतदान गरेका थिए । १८३ मध्ये २ जनाको मृत्यु भएको थियो भने ३ जना मतदानमा अनुपस्थित थिए ।