विराटनगर । सुनसरीको हगरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रमा दुई समूहका बिच भएको झडप पछि उत्पन्न भएको अवस्था सामान्य बन्दै गएको छ । दुई समूहका बिचमा हिजो बिहानै देखि ठाउँ ठाउँमा झडप  भएपछि जिल्ला प्रशासनले हिजो साँझबाट सुनसरीका ५ वटा पालिकाहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो । कर्फ्यु पछि सुनसरीको अवस्था सामान्य बन्दै गएको सुनसरीका  कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदनिधी फुयाँलले जानकारी दिए । साँझबाट कहीँ कतै पनि झडप र प्रदर्शन भएको सूचना आएको छैन उनले भने,अवस्था सामान्य बन्दै गएको छ । परिस्थिति नियन्त्रण भन्दा बाहिर छैन । 
एसइई परीक्षा भएको स्थलमा एक जना युवा माथि कुटपिट भएपछि दुई समुदायका बिचमा झडप भएको थियो । 
यसैबिच सुनसरीका राजनीतिक दलहरूले अपिल जारी गर्दै सद्भाव कायम गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस सुनसरीले अपिल जारी गर्दै  द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक
तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने भन्दै  चिन्ता प्रकट गरेको छ । अपिलमा भनिएको छ  परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको मात्रै होइनौँ, राष्ट्र निर्माण र विकासकालागी हातेमालो गर्दै आएकाछौं । नेपालीको भावना र चाहना विपरीत धार्मिक सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन । 
यस्तै नेकपा एमाले सुनसरीले पनि धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेकाले दोषी उपर कारबाही हुने भन्दै सबैलाई शान्त रहन आग्रह गरेको छ ।