विराटनगर । धरानका मेयर हर्क साम्पाङ्गले इलाम २ को उप निर्वाचनमा पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिङ थेगिमलाई समर्थन गर्ने भएका छन् । मेयर साम्पाङग थेगिमको चुनावी सभामा पुगेर समर्थन जनाएका हुन् । धरानका मेयर साम्पाङ्ग वैशाख १५ गते हुने उप निर्वाचनका लागि मतदातासँग भोट माग्न पुगेका थेगिमसँगै मतदाताको घर दैलो सम्म पुग्न थालेका छन् । उनी हिजो मात्रै ऐतिहासिक यात्राका लागि भन्दै किराँत धर्म गुरु आत्मानन्द लिङ्देनको कुटी भएको स्थान माङ्सेवुङ् समेत पुगेका छन् ।उनले धर्म गुरु लिङ्देनलाई पनि भेटेका छन् । मेयर साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमा  स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम लिम्बुलाई जिताएर इलाम २ ले नयाँ इतिहास रच्ने समेत लेखेका छन् । यस अघि उनले रास्वपाबाट उम्मेदवार बनेका मिल लिम्बुलाई समर्थन गर्ने समाचार बाहिरिएको थियो । लिम्बुले रास्वपाबाट उम्मेदवारी दिएपछि भने मेयर साम्पाङ्गले लिम्बुको आलोचना गर्दै अस्थिर भएको टिप्पणी गरेका थिए । 
धरान उप महानगरको निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवार बनेर विजयी भएका साम्पाङ्गले डकेन्दै स्वतन्त्र उम्मेदवार भएकाले आफूले सघाएको समेत बताएका छन् । 
थेगिम प्रदेशको नाम कोशी राखिएपछि सुरु भएको प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिको तर्फबाट इलाम २ मा उम्मेदवार बनेका हुन् । पूर्व शिक्षक समेत रहेका थेगिम एमालेमा आबद्ध थिए । उम्मेदवार हुनु भन्दा अगाडि एमालेसँगको संलग्नता तोडेर उनी पहिचान पक्षधरका तर्फबाट उम्मेदवार बनेका हुन् । किराँत धर्म गुरु आत्मानन्द लिङ्देनका विश्वास पात्र थेगिमको चुनावी सभामा सहभागी हुन मेयर साम्पाङ्ग बसमा इलामको माङ्सेबुङ्ग पुगेका थिए ।