विराटनगर । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले पत्रकार कृष्ण बहाब माथि भएको दुर्व्यवहारको किटानी जाहेरी लिन आलटाल गरेका छन् । समाचार संकलनका क्रममा बहाब माथि बिहीबार इटहरी उप महानगरका नगर प्रहरीले मोबाइल खोस्दै दुर्व्यवहार गरेका थिए । सिटी सफारी चालकहरूको आन्दोलनको फोटो र भिडियो खिच्दै गर्दा नगर प्रहरीले मोवाइल खोस्दै दुर्व्यवहार गरेका थिए । 
सो विषयमा बहाबले बिहीबार इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएका थिए । तर अहिले सम्म जाहेरी दर्ता भएको छैन । पत्रकार महासङ्घको नेतृत्वमा गएको पत्रकारहरूको टोलीसँग डिएसपी कार्कीले आफू प्रक्रियामा रहेको भन्दै जाहेरी दर्ता गर्न आलटाल गरेका थिए । 
प्रहरी नायब उपरीक्षकले जाहेरी दर्ता गर्न नमानेपछि पत्रकार महासङ्घले आइतबार सम्मको अल्टिमेटम दिएको छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अम्बर खड्काले आइतबार १२ बजे सम्म जाहेरी दर्ता नभए प्रहरी विरुद्ध पत्रकार महासङ्घ आन्दोलनमा उत्रने बताए । 
उनले भने, हामी आइतबार सम्म समय दिन्छौ । सो अवधिमा दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाइयोस् । पत्रकार महासङ्घ सुनसरीका सचिव ध्रुव ढकालले पत्रकारको माग सम्बोधन नगरे धर्ना लगायतका विरोधका कार्यक्रम अगाडि सार्ने बताए ।