विराटनगर । वैशाखको १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनका लागि पहिचान पक्षधरहरूले डाकेन्द्र सिंह थेगिमलाई साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् । प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिमा रहेका विभिन्न घटकहरूको काठमाण्डौमा भएको बैठकले आन्दोलनरत प्रमुख घटकका अध्यक्ष समेत रहेका थेगिमलाई उप निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी पहिचान सहितका प्रदेश नम्बर १  पुन नामकरण अभियान समितिका संयोजक समेत हुन् । उनी किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्षको हिसाबले लामो समयदेखि किराँत धर्म तथा साहित्य ,उत्थानका लागि काम गर्दै आएका थिए । 
प्रदेश सभाले अघिल्लो फागुनको १७ गते प्रदेशको नाम कोशी राखेसँगै सुरु भएको आन्दोलनको थेगिमले नेतृत्व गर्दै आएका थिए । पहिचानका आधारमा प्रदेशको नामकरण हुनु पर्ने माग राख्दै आन्दोलन गर्दै आएको प्रदेश नम्बर १ पुन नामकरण संयुत्तः सङ्घर्ष समितिले इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनमा पहिचान पक्षधरहरूका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको थियो । उनीसँगै  जनमुक्ति पार्टीका केपी पालुंवा समेत इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न चाहन्थे । 
आन्दोलन रत सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिंदेनले सर्वसम्मत  थेगिमलाई उम्मेदवार बनाउने निर्णय भएको बताए । उनले भने हामीले स्थानीयलाई प्राथमिकतामा राखेका हौ । उहाँ सोही निर्वाचन क्षेत्रको पनि हो र पहिचानको आन्दोलनमा उहाँको भूमिका पनि छ । 
थेगिम किराँत धर्म गुरु आत्मानन्द लिंदेनका विश्वास पात्र र प्रमुख सहयोगीका रूपमा चिनिन्छन् । इलामको मांसेवबुंग घर भएका थेगिमलाई उम्मेदवार बनाउन सके पहिचान पक्षधरहरूको मत आउने आन्दोलनरत पक्षेको विश्वास रहेको छ ।