इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इटहरी स्थित कचना माध्यमिक विद्यालयको भवन उद्घाटन गर्ने कार्यक्रम रोक्न इटहरीका मेयर हेमकर्ण पौडेलले प्रयास गरेका छन् ।  एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने भनेर सम्पूर्ण तयारी भइसकेको अवस्थामा मेयर हेमकर्ण पौडेलले भवन उद्घाटनको कार्यक्रम स्थगित गर्न पत्रचार गरेका छन् ।

मेयरले कार्यपालिकाको निर्णय भन्दै पत्र पठाए पनि विद्यालय व्यवस्थापन समितिले उद्घाटन कार्यक्रम नरोक्ने जनाएको छ । मेयरले कार्यक्रम रोक्न दबाब दिँदा र विद्यालय व्यवस्थापन समितिले उद्घाटन कार्यक्रम नरोक्ने जनाउँदा ओली सहभागी हुने कार्यक्रम  विवादमा तानिएको छ । अध्यक्ष ओलीले फागुन १६ गते  विद्यालयको भवन उद्घाटन गर्ने तयारी पुरा भएको थियो । 

तयारी पुरा भइसकेको अवस्थामा मेयर पौडेलले भवन निर्माणको काम सम्पन्न नभएको भन्दै सोमबार उद्घाटन कार्यक्रम स्थगित गर्न पत्र पठाएका थिए । मेयरले पत्र पठाए पनि विद्यालय व्यवस्थापन समितिले पूर्व निर्धारित समयमै भवनको उद्घाटन गर्ने जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिगबहादुर राईले पूर्व निर्धारित समयमै भवनको उद्घाटन हुने र अध्यक्ष ओलीले नै गर्ने बताए । 

उद्घाटन तयारीका विषयमा एमाले कोशीका सह इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले स्थलगत अनुगमन समेत गरेका छन् । भवन निर्माणको सम्पूर्ण काम सकिएको राईले बताए । 

राजनीतिक प्रतिसोधका कारण अध्यक्ष ओलीलाई भवन उद्घाटन गर्न रोक्न खोजेको भन्दै एमाले इटहरीले मेयर हेमकर्ण पौडेलको कार्यशैलीको विरोध गरेको छ । 

पौडेल नेपाली काँग्रेसका तर्फबाट इटहरीको मेयरमा निर्वाचित भएका हुन् । उनले राजनीतिक प्रतिसोधका कारण एमाले अध्यक्ष ओलीले भवनको उद्घाटन गर्ने भनेर निर्णय भइसकेपछि बाहान बनाएर उद्घाटन गर्न नदिने तयारी गरेको एमालेको आरोप छ । 

मेयरले भन्दैमा भवन उद्घाटन कार्यक्रम नरोकिने इटहरी एमालेका कार्यवाहक अध्यक्ष रुपेश बस्नेतले बताए । उनले भवन उद्घाटनको आवश्यक तयारी पुरा भएको बताए । 

इटहरीका मेयर पौडेलले भने पूर्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीले भवनको उद्घाटन गर्नु गौरवको कुरा भएको बताए । उनले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीले उद्घाटन गर्नु नगरको गौरवसँग जोडिएको छ । नगरसँग जोडिएको बिषय भएकाले आवश्यक तयारी पूरा गर्न बाँकी भएकाले स्थगित गरिएको बताए । उनले भने, हामी उहाँलाई बोलाएर पछि भवनको उद्घाटन गराउँछौ अहिले भवन निर्माणको काम सकिएको छैन हतार नगरौँ । 

इटहरी उप महानगरका उप मेयर सङ्गीता कुमारी चौधरीले उद्घाटन कार्यक्रम भोली नै हुने बताएकी छन् । उनले सबै तयारी सकिएको भन्दै एमाले अध्यक्ष ओलीले नै भवनको उद्घाटन गर्ने बताइन् । उनले मेयरले राजनीति गरेको आरोप समेत लगाइन् ।