विराटनगर ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कोशी प्रदेश महामन्त्री लालविक्रम थापा कारवाईमा परेका छन् । उनलाई पार्टीको पेज फेसबुक पेज दुरुपयोग गरेको र सामुदायिक विद्यालयको जग्गाको भाडा नतिरेको भन्दै उनलाई पार्टीले निलम्बन गरेको छ । उनी सुनसरी क्षेत्र नं २ मा गएको  प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनेका थिए ।
उनले  इटहरीको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको आरोप लगाइएको छ । सो विषयमा पार्टीले  उक्त मुद्दालाई किनारा लगाउन सुझाव दिँदा नटेरेको भन्दै पार्टीले कारबाही गरेको हो । उनीमाथि पार्टीको फेसबुक पेज दुरुपयोग गरेको भन्दै कारवाही  गरिएको  छ ।
 
उनले विद्यालयको २ कट्टा खाली जग्गा भाडामा लिएर सनमुन प्लाजा सञ्चालन गर्दै आएका छन् । प्लाजा बिच भएको सम्झौता अनुसारको भाडा नबुझाएको भन्दै पार्टीले स्पष्टीकरण सोधेको थियो । तर संवाद प्रक्रिया नै बन्द गरी कोशी प्रदेशको सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८०  भावना र मर्म विपरीत फेसबुक लाइभ गरी अनर्गल प्रस्तुति दिएको पार्टीको आरोप छ ।
विज्ञप्तिमा भनिएको छ, पार्टीको एक जिम्मेवार व्यक्तिबाट पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गरी केन्द्रीय अनुशासन विभाग   च. नं. ८० मिति २०८०र११र०७ को पत्र अनुसार कोशी प्रदेश समितिको महामन्त्री तथा सदस्य पद बाट अर्को निर्णय नआइन्जेल सम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौ । अर्को व्यवस्थापन नभएसम्मका लागि आजकै मितिबाट निजले गर्दै आएको सङ्गठन सम्बन्धी काम कारवाहीहरु प्रदेश सङ्गठन  विभाग सचिव मार्फत हुने जानकारी गराउँदछौ ।’
थापाले गत प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं  २ मा १९ हजार बढी मत ल्याएका थिए ।
एमालेका भीम आचार्य ३२०२४ मत ल्याएर विजयी भएको निर्वाचनमा काँग्रेसका सीताराम मेहताले २६०६८ मत ल्याएका थिए भने रास्वपाका थापाले १९३९१ मत ल्याएका थिए ।