इटहरी । मोरङमा सोमबार बिहान जङ्गली हात्ती मृत फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र हात्ती मृत फेला परेको हो। 
सब डिभिजन वन कार्यालय सलकपुरले हात्तीलाई गोली हानेर मारिएको हो ।  सब डिभिजन वन कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले बिहान ८ः५० बजेतिर प्रहरी र वन कर्मचारीलाई खबर गरेको बताए । 
‘गोली हानेर हात्तीलाई मारेजस्तो देखिन्छ। पुच्छर पनि छैन। मारेपछि पुच्छर काटेर लगेको हुनसक्छ,’उनले भने, ‘देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोलीले छेडेको प्वाल देखिन्छ। भाले हात्ती लगभग १२ देखि १५ वर्षसम्मको हुनसक्छ।’माझीका अनुसार बिहान ४ः३० बजेतिर घटनास्थल आसपासमा बन्दुक पड्किएको आवाज सुनेको जानकारी स्थानीयले गराएका छन्। 

घटनास्थलनजिकै सामुदायिक वनको नर्सरी छ। नर्सरीभित्र रहेका बेला हात्तीलाई गोली हानिएको अनुमान वन कर्मचारीले गरेका छन्। नर्सरीभित्रसमेत रगत लतपतिएको छ। गोली लागेपछि घस्रिदैं र रन्थनिँदै तालजाली भत्काएर नर्सरीबाट निस्किएको हात्ती बाटोमा आइपुगेपछि ढलेको पाइएको माझीले बताए। उनका अनुसार नर्सरी र हात्ती ढलेको ठाउँ लगभग सय मिटर जति टाढा छ। 

‘नर्सरीबाट हात्ती रन्थनिएर लगभग सय मिटर जत्तिको दूरीसम्म घस्रिँदै पुगेर बाटोमा ढलेजस्तो देखिन्छ,’उनले भने, ‘स्थानीयले दिएको जानकारी र घटनाको प्रकृति हेर्दा गोली हानेरै हात्तीलाई मारिएको प्रस्ट हुन्छ।’ माझीका अनुसार चोरी सिकारीमा संलग्नले हात्ती मारेको आशङ्का छ। मारेपछि पुच्छर काटेर लगेको उनले बताए। प्रहरी र वनको टोलीले घटनामा संलग्नको खोजी सुरु गरेको जानकारी माझीले दिए।  उनका अनुसार लगभग १२ देखि १५ वर्षसम्मको देखिने भाले हात्ती मृत फेला परेको हो।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तु विज्ञको टोली आइपुगेपछि पोस्टमार्टम गरेर हात्तीको दाहसंस्कार गरिने र थप अनुसन्धान अघि बढाइने माझीले बताए। 
पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिक जसो हात्तीको हुल देखिन्छ। उक्त हुलमा २७ वटाभन्दा बढी हात्ती रहेको बताइएको छ। हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पु¥याउने गरिरहेको हो। कोशीका तराईका जिल्लामा गत मङ्सिर पहिलो साताबाट हात्तीको वितण्डा बढेको छ।