इटहरी । पत्रकारहरू सधैँ हतार मै हुन्छन् । समाचार सकंलन, प्रकाशन तथा प्रसारणका लागि हतार गर्दै कार्य क्षेत्रमा खटिनु पत्रकारको दैनिकी नै हो । तर शनिवार भने पत्रकारहरू केही समय कामलाई थाँती राखेर मन खोलेर छमछमी नाचे ।
नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको तिज विशेष कार्यक्रममा सुनसरीका पत्रकारहरू दिननदिनको दुःखलाई भुलेर रमाए । तिज विशेष कार्यक्रम आयोजना गरेर प्रेस युनियन सुनसरीले जिल्लामा क्रियाशील पत्रकारहरूलाई एकै ठाउँमा भेला गरेको थियो ।
सधैँ आ आफ्नो कर्म क्षेत्रमा खटिने पत्रकारहरू एकै ठाउँमा भेला भएपछि एक अर्कामा खुसी साटासाट गर्दै छमछमी नाचे ।
तिज विशेष कार्यक्रममा महिला पत्रकारहरूले कम्मर भाँच्दै छमछमी नाच्दा पुरुष पत्रकार कुर्सीमा पर बसेनन् । उनीहरू पनि सँगै नाचे उसै गरी । प्राय नाच्न लजाउने पत्रकारहरू पनि तिज कार्यक्रममा खुलेर नाचे ।
तिज गीतमा अग्रज पत्रकारहरूले पनि नाच्न साथ दिएका थिए । प्रेस चौतारी नेपाल सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले केही बेर दोहोरी गाउँदै सबैलाई नचाइन । तिजका नयाँ पुराना गीतमा सबै पत्रकार झुमे ।

कार्यक्रममा सहभागी पत्रकारहरूले यस्ता सांस्कृतिक कार्यक्रमहरूले एक अर्कामा खुसी साटासाट गर्न मौका मिल्ने बताए ।
नयाँ पुराना पत्रकारहरू बिच चिनजान गर्न पनि यस्ता कार्यक्रमले सहयोग गर्ने प्रेस युनियन कोसी प्रदेश सचिव सरला रेग्मीले बताइन् । तिज कार्यक्रमले मलाई मात्रै होइन नयाँ पुराना पत्रकारहरू सबैलाई एक अर्कामा चिनजान गर्ने मौका मिलेको उनले बताइन् ।
एक अर्कामा भएको तिक्तता मेटाउन र हार्दिकता आदानप्रदान गर्न पनि तिज विशेष कार्यक्रम सफल भएको कार्यक्रममा सहभागी पत्रकारले बताए । हेर्दा सानो लागे पनि यस्ता कार्यक्रमले मन खोल्न र हार्दिकता साटासाट गर्न सहयोग पुग्ने पत्रकार चेतन धमलाले बताए । आफू पनि कार्यक्रममा मज्जाले नाचेको धमलाले सुनाए ।
प्राय नाच्न अप्ठ्यारो लागे पनि तिज विशेष कार्यक्रममा मज्जाले नाचेको प्रेस युनियन सुनसरीका कोषाध्यक्ष मात्रिका प्रसाद नेपालले बताए । कोषाध्यक्ष नेपालको कुरामा युनियनका कोसी प्रदेश सचिव विनय बाह्रकोटीले सहमति जनाए ।
तिज विशेष कार्यक्रममा सुनसरीका नयाँ पुराना सबै पत्रकारहरू सहभागी भएका थिए । कार्यक्रममा पुरुष पत्रकारका श्रीमती तथा महिला पत्रकारका श्रीमानलाई पनि निम्ता गरिएको थियो ।
महिलाहरूको तिज पर्वलाई पत्रकारहरू बिचमा आत्मीयता साटासाट गर्दै रमाइलो गर्न कार्यक्रम आयोजना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालले जानकारी दिए । दैनिक कार्य क्षेत्रमा खटिँदा सधैँ समाचारको प्रेस तथा तनावमा हुने पत्रकारहरूलाई केही क्षण भए पनि तनावबाट मुक्त कार्यक्रम आयोजना गरिएको उनले बताए ।
शनिवार दिउँसो रमाइलो गरेका पत्रकारहरू साँझ भने आ आफ्नो कार्यरत संस्थामा फर्किएर समाचार कर्ममा पुनः व्यस्त भए ।



















