सुनसरी । इटहरी उपमहानगरपालिले वृद्धि गरेको भूमि करको दर घटाउन नेकपा एमाले इटहरी उपमहानगर कमिटीले माग गरेको छ । मङ्गलवार पत्रकार सम्मेलन गरी अघिल्लो वर्ष इटहरी उपमहानगरपालिकाले ल्याएको आर्थिक ऐन भन्दा यस पटक ल्याएको आर्थिक ऐनमा भूमि करको दर अत्यधिक बढाइएको भन्दै साउन महिनाभित्र कर नघटाइए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

इटहरी नगर सभाले पास गरेको आर्थिक ऐन २०८०/८१ अनुसार इटहरीको बजार क्षेत्रको मात्रै नभएर ग्रामीण क्षेत्रको जग्गाको समेत कर बढाएको छ । गत वर्ष धुरको सबै भन्दा बढी २० रुपैयाँ करको दर तोकिएकोमा यस वर्ष १०० रुपैयाँसम्म पुर्‍याइएको छ ।
करको दर अत्यधिक बढाइएपछि सर्वसाधारण मारमा परेको जनाउँदै साउन महिना देखी बढाइएको कर साउन मसान्त भित्रै घटाउन एमाले नगर कमिटीले अल्टिमेटम समेत दिएको छ ।

उपमहानगरले जग्गाको मूल्याङ्कन बढाउँदै भूमि करमा अत्यधिक वृद्धि गरेपछि विरोधमा उत्रिन बाध्य हुनुपरेको एमाले इटहरी नगर कमिटी अध्यक्ष याम सुब्बाले बताए । मंगलबारनै नगरप्रमुख हेमकणर् पौडेललाई एमाले उपमहानगर कमिटीले जनताको डाढ सेक्ने गरी बढाएको करलाई समायोजन गर्न माग समेत गरेको सुब्बाले बताए ।

नगर सभामा नेकपा एमालेबाट निर्वाचित बहुमत सदस्य हुँदाहुँदै उनीहरूले बलियो उपस्थिति देखाउन नसकेको सुब्बाले स्वीकार गरेका छन् । कर बढेको विषयमा एमाले पनि जिम्मेवार रहेको बताउँदै जनतासँग क्षमा मागेर आन्दोलन जारी राख्ने उनले बताए ।

राजस्व परामर्श समितिको संयोजक उपमेयर हुने कानुनी व्यवस्था हुँदाहुँदै कार्यपालिका र नगर सभाबाट कर वृद्धिको बिषय पारित हुनु कमजोरी भएको एमाले इटहरी उपमहानगर कमिटी सचिव रुपेस बस्नेतले बताए ।
समितिमा छलफल नभएको र कार्यपालिका बैठकमा बिषयनै प्रवेश नभएको कर वृद्धिको बिषय एकै पटक नगर सभाबाट पारित भएको एमाले एमाले सुनसरी अध्यक्ष रेवती रमण भण्डारीले बताए । भण्डारीले नगरप्रमुख हेमकणर् पौडेलले आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाए । नगरप्रमुख पौडेलले असारको अन्तिम दिन नगर सभा बोलाएर नगर सभा सदस्यमाथि दबाब बढाएको र व्यवहारिक रूपमा विरोध गर्न नमिल्ने अवस्था सृजना गरेको भण्डारी आरोप छ ।

यता इटहरी उपमहानगर प्रमुख हेमकणर् पौडेलले भने कार्यपालिका र नगर सभामा पर्याप्त छलफल गरेर पास गरिएको विषयलाई लिएर एमालेले अहिले आएर विरोध गर्नुको कुनै औचित्य नरहेको बताउँदै आएका छन् ।

इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुख सहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुख सहित ६ जना नेपाली काङ्ग्रेसबाट निर्वाचित सदस्य छन् ।

यस्तै १०४ जना नगर सभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली काङ्ग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।