विराटनगर । कोशी प्रदेश सरकारमा मन्त्री पठाउने विषयमा माओवादी भित्र चरम विवाद भएको छ । विवादका बिचमा नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाले पहिलो चरणमा गठबन्धन दलबाट एक एक जना मात्रै मन्त्री नियुक्त गर्ने भनिएपछि सरकारमा को जाने भन्ने विषयमा विवाद भएको हो । केन्द्रको निर्देशन अनुसार थापाले प्रचण्डका ज्वाँई जीवन आचार्यलाई मन्त्री नियुक्त गर्न लागेपछि माओवादी भित्र विवाद उत्पन्न भएको हो ।
माओवादी कोशी प्रदेशले आचार्यको स्थानमा दुर्गाप्रसाद चापागाईँलाई मन्त्री बनाउन लागेको थियो । पहिलो चरणमा चापागाईँलाई मन्त्री बनाउन खोजे पनि केन्द्रको निर्देशनमा आचार्यलाई मन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाउने तयारी भएपछि विवाद उत्पन्न भएको छ । विवादका कारण शपथ कार्यक्रममा माओवादीको सहभागिता भएन ।
माओवादीले पहिलो चरणमै माओवादीबाट २ जना मन्त्री बनाउनु पर्ने अडान राखेको थियो । तर छलफल नभएको भन्दै मुख्यमन्त्री थापाले दुई जनालाई मन्त्री बनाउन नमानेपछि माओवादीले मन्त्रीको नाम नपठाएको श्रोतले जनाएको छ । विवाद भएपछि शपथ ग्रहण कार्यक्रममा माओवादीको उपस्थिति भएन ।
यस अघि हिक्मत कार्की नेतृत्वको सरकारमा चापागाईँ र आचार्य दुवै मन्त्री भएका थिए । उनीहरू मध्येबाटै मन्त्री बनाउने पार्टी भित्र सहमति भए पनि पहिला आचार्यलाई मन्त्री बनाउन खोजिएपछि माओवादी भित्र सहमति जुट्न सकेको छैन । माओवादी शपथ ग्रहण कार्यक्रममा नगएपछि मुख्यमन्त्री थापाले एकीकृत समाजवादीका कमल प्रसाद जवेगु र काँग्रेसका प्रदीप सुनवरलाई मन्त्री नियक्ती गरेका छन् ।
यसै गरी एमाले पनि शपथ कार्यक्रम बहिस्कार गरेको छ । असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै एमालेले शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको जनाएको छ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेबतीरमण भण्डारीले भने,सभामुखको हस्ताक्षर सहित बनेको सरकार पूर्ण तय असंवैधानिक हो असंवैधानिक सरकारको गठनको कार्यक्रममा एमाले जाँदैन ।