सुनसरी — सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्न थालेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको उच्चस्तरीय टोलीले शुक्रबार कोशी ब्यारेजको अनुगमन गरेको छ।
मुख्यमन्त्री कार्की, कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजीसहित सुरक्षा निकायका प्रमुखहरूको टोलीले ब्यारेज पुगेर सप्तकोशीको जलप्रवाह र आसपासको जोखिम अवस्थाबारे जानकारी लिएको हो।
अनुगमनका क्रममा टोलीले ब्यारेजका अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिसँग नदीमा बढिरहेको पानीको बहाव, ब्यारेजको अवस्था र सम्भावित जोखिमका विषयमा जानकारी लिएको थियो। नदीमा पानीको सतह बढिरहे पनि शुक्रबारसम्म तत्काल जोखिमको अवस्था नरहेको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार नदीमा पानीको बहाव र जलस्तरको निरन्तर निगरानी भइरहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई तयारी अवस्थामा राखिएको छ।
कोशी ब्यारेज पूर्वी नेपालका विभिन्न जिल्लासँगै भारतको बिहार क्षेत्रका लागि समेत बाढीको जोखिमका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ। मनसुनका बेला सप्तकोशीमा पानीको बहाव बढ्दा ब्यारेज र तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले प्रशासनले जलस्तरको नियमित अनुगमन गर्दै आएको छ।
मुख्यमन्त्री कार्की नेतृत्वको टोलीको अनुगमनपछि तत्काल आत्तिनुपर्ने अवस्था नरहेको जनाउँदै प्रशासनले नदीको बहाव बढ्दै गए त्यसअनुसार आवश्यक सुरक्षा तथा पूर्वतयारीका काम अघि बढाइने जनाएको छ।











