‘शिक्षक’ त्यो हो जसले सिकाइका लागि प्रेरणा दिने,बाटो देखाउने, निर्देशित गर्ने, हौसला प्रदान गर्ने र ज्ञानलाई माया गर्ने गर्दछ । शिक्षकलाई आफू जलेर अरूलाई उज्यालो बनाउने बत्तीसँग पनि तुलना गरिन्छ । तीन वटा ‘प’ प्रविधि, पेडागोजी र परिवर्तित ज्ञानको ज्ञाता हो भनिन्छ । 
शिक्षकहरूलाई जाँगरिलो बनाउन मनोवैज्ञानिक,सामाजिक, आर्थिक, शारीरिक, राजनीतिक रूपमा सचेत,सबल सन्तुष्ट बनाउनुपर्दछ । शिक्षाको हरेक क्षेत्रमा व्यक्ति भन्दा विधिको शासन, नेता भन्दा नीतिको मार्गदर्शन, दाता भन्दा डाटालाई नीति निर्माणमा प्रधानता दिँदै ९ ‘अ’ (अभिभावक, अध्यापक, अध्यायनार्थी(विद्यार्थी), अध्ययन विषय र विधि, अनुशासन, अपनत्व, अनुदान, अनुगमन (निरीक्षण) र अनुसन्धान)लाई मध्यनजर राखेर योजना र कार्यक्रम कार्यान्वयन गर्न सकेमा एक प्रतिस्पर्धी स्वाभिमानी पौरखी नागरिक उत्पादन गर्न सकिनेछ ।
नयाँ नेपालको परिकल्पनालाई साकार रूप दिन उसको योगदान अर्थपूर्ण एवं उदाहरणीय हुनेछ । अन्तमा; शैक्षिक योजना, आर्थिक लगानीमा वृद्धि र लगानीको सही कार्यान्वयन, शिक्षकलाई उत्प्रेरणा, जिम्मेवारीमा अभिवृद्धि जगाउने जस्ता कार्यक्रमको सुरुवात, अनुशासित विद्यार्थी र समाजले सार्वजनिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन ल्याई सुधारका लागि क्रान्तिकारी नीति–नियमको व्यवस्थापन तथा कार्यान्वयनमा जोड दिनुपर्दछ । 

विद्यालयका शैक्षिक, भौतिक र व्यवस्थापकीय क्षेत्रमा व्यापक युगान्तकारी परिवर्तन ल्याउन प्रयास गरिनु पर्दछ । सबैको आशा र भरोसाका केन्द्रबिन्दु सरकारी विद्यालयलाई बनाइनुपर्दछ । अब सुविधा सम्पन्न सामुदायिक विद्यालयको निर्माणमा जोड दिनुपर्दछ । जहाँ बालबच्चा आउन हतार गरुन्, अनि घर फर्कन मन नगरुन् । शिक्षक जिम्मेवार बनुन्, सबै विषयमा प्रतिस्पर्धात्मक भावनाको उजागर गर्न सकुन् । फराकिला कक्षा कोठा सुन्दर सजावट, पर्याप्त खेलकुदका सामाग्री, सफाइ, स्वस्थ चमेना गृह, शौचालय, पिउने पानी,उपयुक्त खेल मैदान, नृत्य–सङ्गीतको व्यवस्था लगायत सुविधा दिलाउन सक्ने बनाउनु आजको आवश्यकता हो । यी आवश्यकताको पूर्ति भएमा हाम्रा विद्यालयमा बहार आउने छ । विद्यार्थी खचाखच हुनेछन् । प्रतिस्पर्धा बढ्नेछ र समाज बदल्न सक्ने सम्भावना तथा सोचहरूको उत्पादन हुनेछ । 

नेपालमा विद्यालय शिक्षा ऐन ल्याउनु पर्दछ भनी सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू आधा महिना भन्दा बढी समय सडकमा आन्दोलनरत छन् । यो ऐन शिक्षक–कर्मचारीहरूको लागि मात्र ल्याउने विषय होइन । नेपालमा गणतन्त्र स्थापनासँगै विद्यालय शिक्षा ऐनलाई परिवर्तन गर्नु पर्दछ । शिक्षक–कर्मचारीलाई मात्र आवश्यक हैन परिवर्तन गरिएको शिक्षा ऐन आजको आवश्यकता हो ! 

गणतान्त्रिक राज्यमा यस्ता ऐन ल्याएर समुन्नत नेपाललाई नेतृत्व गर्ने नेतृत्वकर्ताहरुले संवेदनशीलता गुमाउनु भएको हो कि भन्ने भावनाको बीजारोपण भएको छ । अब के गर्ने त ? विद्यालय शिक्षा ऐन हामीले प्राप्त गरेनौ भने सधैँ सडक आन्दोलन मात्र गर्ने त ? यो आन्दोलनको स्वरूप परिवर्तन गर्ने हो कि ? तपाईँ हाम्रा नानीबाबुलाई यो नेतृत्वले ऐन दिन सकेन, त्यही कारणले शिक्षकहरूको, विद्यार्थीहरूको र अभिभावकहरूको जीवनमा खेलबाड गर्‍यो भने शिक्षक साथीहरूले आफ्ना विद्यार्थीहरूलाई जानकारी दिँदै विद्यालयमा सञ्चालन हुने शैक्षिक गतिविधिहरू सञ्चालन गर्ने हो कि ?

राज्यले विद्यालय शिक्षा ऐन दिन सकेन भन्ने कुरा मात्र हैन शिक्षकहरूले सिकाई प्रणाली परिवर्तन गर्न सकेनन्, आफ्ना छोराछोरी संस्थागत विद्यालयमा अध्यापन गराई रहेका छन् । अभिभावकहरू सामुदायिक विद्यालय प्रति जिम्मेवार बनेनन् भन्ने आरोपहरू पनि छन् । यस्ता सबै खाले समस्या आरोप प्रत्यारोपको उत्तम उपाय सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि सञ्चालन गर्नुको विकल्प देखिएन ।

तसर्थ हामी सुधार गर्छौ, हाम्रो विद्यालय भन्ने नारालाई व्यवहारमा उतार्नका लागि शिक्षकहरू,कर्मचारीहरू अभिभावकहरू एवम् सरोकारवाला सबैलाई २०८२ वैशाख ०७ गते आइतबार देखि विद्यालय सञ्चालनमा सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु !

कोविद जंग कार्की 
अध्यक्ष
 विद्यालय व्यवस्थापन समिति 
राष्ट्रिय माध्यमिक विद्यालय ,इटहरी उपमहानगरपालिका