विराटनगर । कोशी प्रदेशमा सहकारीको लगानी राम्रो रहेको भए पनि बचत कर्ता भने त्रासमा देखिएका छन् । सहकारीका हरेक कार्यक्रममा सहकारीलाई सुधार गरेर लाग्ने भनेर चर्चा हुने गरेको भए पनि पछिल्ला दिनमा सहकारीहरू बदनाम हुँर्दै गएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरूको थोरै रकम जम्मा गर्ने थलो बनेको सहकारी केही दलालका कारण बदनाम हुँदै गएको सहकारी क्षेत्रका व्यक्तिहरूले नै बताउँदै आएका छन् ।  कोशी प्रदेशमा बचत तथा ऋण सहकारी सङ्घ लि. (कोशी प्रोस्कून) को आयोजनामा सहकारीमा अवसर, चुनौती र अबको बाटो विषयक कार्यक्रममा पनि सहकारीका समस्याको बारेमा छलफल भयो तर कसरी अघि बढ्ने भन्ने बारेमा कुनै निकायले पनि स्पष्ट धारणा ल्याउन सकेनन् । सहकारीमा बचत जम्मा गरेका सदस्यहरूको बचतको सुरक्षा गर्ने उपायको बारेका राज्य नै निरीह देखिँदै आएको छ ।   सहकारी क्षेत्रले समस्याको समाधान कसरी गर्ने, नागरिकलाई जोखिम कम हुने बारेमा कसरी आश्वस्त पर्ने र सरकारी निकायले ठगी गर्ने सहकारीलाई कसरी कारबाही गर्दै छ भन्ने बारेमा समेत अन्योल नै देखिएको छ। सोमबार इटहरीमा भएको कार्यक्रममा पनि त्यस्तै छलफल गरेर नै कार्यक्रम सकियो ।  
नेफ्स्कूनका सञ्चालक समेत रहेका कोशी प्रोस्कूनका अध्यक्ष  घनश्याम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीमा अवसर, चुनौती र अबको बाटो विषयमा काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घका सञ्चालक कृष्ण प्रसाद आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । 
सहकारीको इतिहास, सहकारीको  वर्तमान अवस्था, सहकारी क्षेत्रले हासिल गरेका मुख्य उपलब्धिहरू, सहकारी क्षेत्रका अवसर तथा चुनौतीहरू, सहकारीको नियमन क्षेत्र तथा सहकारीको योगदान र नेपालमा सहकारीको अबको बाटो लगायतका विषयमा  छलफल भएको छ।  कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष रमेश पोखरेलले सहकारी अभियान विदेशी सहकारी क्षेत्रले अध्ययन गर्ने हाम्रो सहकारी अभियानमा राम्रो उपलब्धि हुँदा हुँदै पनि चुकेको ठाउँको खोजी गर्नु पर्ने बताए ।  सहकारी अभियान गलत नभएको भन्दै अभियानका केही व्यक्ति खराब भएका कारण समस्या देखिएको उनको भनाई छ । हजारौँ सहकारीमा २ प्रतिशतमा देखिएको समस्याले सिङ्गो सहकारी अभियानलाई असर गरेको पोखरेलले बताए । 
आफैँ सञ्चालक र आफै ऋणी भएको सहकारीमा बढी समस्या देखिएको तथा सहकारीका सञ्चालकहरूले पारिवारिक रूपमा परिचालन गरेको पुँजीका कारण समस्या आएको पोखरेलले बताए । सहकारीको विधि विधान, नियम संगत चलेका सहकारीमा समस्या नदेखिएको उनले स्पष्ट पारे । 
कोशी प्रदेशका निमित्त सहकारी रजिस्ट्रार हरि बहादुर खत्रीले रजिस्ट्रारको कार्यालयको नियमन भित्र पर्ने १०७७ वटा सहकारी मध्ये ५ सयले मात्र प्रतिवेदन बुझाएको जानकारी दिए । १३७ पालिका मध्ये ४२ वटा पालिकाले रिपोर्ट रजिस्ट्रारमा पठाएको पनि उनले जानकारी दिए । 
रजिस्ट्रारको नियमन भित्र पर्ने सहकारीको पुँजी १ खर्व १३ अर्ब रहेको र पालिकाबाट प्राप्त रिपोर्ट समेत जोड्दा १ खर्व ४५ अर्ब पुँजी रहेको खत्रीले बताए । २१ लाख बढी सदस्य सहकारीमा आबद्ध भएको उनले बताए । उनका अनुसार २० वटा सहकारी विरुद्ध रजिस्ट्रारको कार्यालयमा उजुरी परेको छ । 
अन्य प्रदेशको भन्दा कोशी प्रदेशमा सहकारी राम्रो रहेको बताउँदै खत्रीले सहकारी अभियानभित्र केही फोहोर रहेकाले सफा गर्नुपर्ने अवस्था रहेको बताए । कतिपय पालिकाले कोपोमिसको पासवर्ड नै नदिएको पनि उनले जानकारी दिए । खत्रीले एउटै व्यक्ति धेरै संस्थामा बस्ने प्रवृत्ति पनि अन्त्य गर्नुपर्ने बताए । 
त्यस्तै महासङ्घका सञ्चालक शिव डाँगी, गणेश ढकाल, नेफ्स्कून सञ्चालक गोमा नेपाल लगायतले वर्तमान सहकारीको बारेमा बोल्दै आवश्यकता भन्दा बढी सहकारी रहेकाले पनि समस्या देखिएकोले एकिकरणमा जोड दिए ।  विधि प्रक्रियामा कमजोर भएका सहकारीमा मात्र समस्या देखिएको उनीहरूको भनाई थियो ।